२०८१ वैशाख २१ गते | 3rd of May 2024

एमालेको विधान महाधिवेशन सकियो , राष्ट्रिय महाधिवेशन बुटवलमा गर्ने निर्णय

खुल्लामन्च
 प्रकाशित: २०७८ असोज १७ गते १४:०६

काठमाडौं –  नेकपा एमालेको विधान महाधिवेशनले राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावलाई सुझाव सहित पारित गरेको छ । आइतबार ललितपुरमा सम्पन्न विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदनबारे पार्टी अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदनबारे महासचिव ईश्वर पोखरेल र विधान संशोधन प्रस्तावबारे उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिएपछि पारित गरेको हो । त्यस्तै विधान महाविधेशनले आगामी राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न डा. विजय सुब्बाको संयोजकत्वमा १५ सदस्यीय निर्वाचन आयोग गठन गरेको छ । विधान महाधिवेशनमा अध्यक्ष ओलीले आयोगका संयोजकसहित सदस्यहरूको नाम प्रस्ताव गरेका थिए । राष्ट्रिय महाधिवेशन बुटवलमा हुने एमालले जनाएको छ ।

बैठकले केही समसामायिक प्रस्ताव पनि पारित गरेको छ । बैठकले एमाले फुटाउनका लागि संविधानको अपव्याख्या गर्दै अध्यादेश ल्याएको भन्दै रोष प्रकट गरेको नेता रघुजी पन्तले जानकारी दिए । त्यस्तै बैठकले भ्रमवश पार्टी विभाजनमा परेका कार्यकर्तालाई मुल पार्टीमा फर्कन पनि आह्वान गरेको छ । वर्तमान सरकारले भूमिसम्बन्धी आयोग खारेज गरेकोमा निन्दा गर्दै भूमिहीनको पक्षमा निरन्तर संघर्ष गर्ने निर्णय पनि गरेको छ । त्यस्तै स्रोत नखुलेको सम्पत्तिलाई वैधानिकता दिनेगरी प्रतिस्थापन विधेयक ल्याइएको व्यवस्था सत्तास्वार्थ रहेको भन्दै गलत निर्णय सच्चाउन पनि माग गरेको नेता पन्तले बताए ।

त्यस्तै एमालेले पार्टीको नयाँ लोगो र एप सार्वजनिक गरेको छ । एमालेको नयाँ लोगोको बीचमा सूर्य चिन्हको बीचमा हँसिया हथौडा छ । त्यस्तै एपले सबै कार्यकर्तालाई एउटै सञ्जालमा जोड्न मद्दत गर्ने एमालेले जनाएको छ । एमाले विधान महाविधेशन गत शुक्रबारदेखि सुरु भएको थियो । महाधिवेशनमा देशभरबाट ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *