काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषदलाई पूर्णता दिएका छन्। झन्डै तीन महिनापछि देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन्। देउवाले यसपालि उपप्रधानमन्त्री कसैलाई पनि बनाएनन्।
उपप्रधानमन्त्री हुन नपाउने भएपछि जसपा अध्यक्ष उपेन्द्र यादव सरकारमा सहभागी भएका छैनन्। प्रधानमन्त्री देउवापछि बरियताक्रममा दोस्रो नम्बरमा गृहमन्त्री बालकृष्ण खाणको नाम छ। यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा चार जनासम्म उपप्रधानमन्त्री थिए। त्यसबेला ईश्वर पोखरेल, विष्णु पौडेल, रघुवीर महासेठ, राजेन्द्र महतोलाई उपप्रधानमन्त्री बनाइएको थियो। प्रधानमन्त्री देउवाले जनताको अपेक्षाअनुसार काम गर्न नवनियुक्त मन्त्रीहरुलाई निर्देशन दिएका छन्। मन्त्रिपरिषद्लाई पूर्णता दिएलगत्तै शुक्रबार अपरान्ह सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले मुलुकको आवश्यक्ता अनुसार उत्साह र इमान्दारिताका साथ जनताको अपेक्षा अनुसार काम गर्न नवनियुक्त मन्त्रीहरुलाई निर्देशन दिएका हुन्।
बैठकले सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई तोक्ने निर्णय गरेको छ। त्यसैगरी मन्त्रिपरिषद् बैठकले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड-२०७८ लाई स्वीकृत गर्ने र मन्त्रिपरिषद्का समितिहरुलाई पुनर्गठन गर्ने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए। यसैबीच, सरकारका प्रवक्ता कार्कीले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमाल नेपाली काँग्रेसको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गरेको प्रस्ट पारेका छन्। उनले नवनियुक्त मन्त्री हमाललाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडेर आएको समाचारमा कुनै सत्यता नरहेको बताए।