काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका फेरि सार्ने सहमति बनेको छ। मंसिर मसान्तसम्म महाधिवेशन सक्नेगरी त्यसअघि पार्टीको तल्लो संरचनाको अधिवेशन सकाउन निर्वाचन समितिलाई निर्देशन दिइएको छ।
निर्वाचन समितिका सदस्यहरुसहित मंगलबार कांग्रेस पदाधिकारी बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको थियो। बैठकमाा सभापति शेरबहादुर देउवा पनि सहभागी थिए। बैठकले तल्लो तहका अधिवेशन छिटो सक्ने निर्णय गरेको निर्वाचन समितिका सदस्य एगराज पोखरेलले जानकारी दिए। केन्द्रीय महाधिवेशन मंसिर मसान्तअघि नै सकाउने गरी तल्लो तहको अधिवेशन गर्ने निर्णय भएको उनले जानकारी दिए। संशोधित कार्यतालिका अनुमोदनका लागि केन्द्रीय समिति बैठकको आवश्यकता रहेकाले डाक्न आग्रह गरिएको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए। तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्नेगरी काम गर्न निर्वाचन समितिलाई आग्रह गरिएको पौडेलले बताए। मंसिर मसान्तसम्म महाधिवेशनको मिति पर सार्ने भए त्यसका लागि केन्द्रीय समिति बैठक बोलाएर निर्णय गर्नुपर्ने राय राखेको पौडेलले सुनाए।