काठमाडौं – सत्तारूढ गठबन्धनले बनाएको राजनीतिक समन्वय समितिको बैठकले सर्वोच्चमा देखिएको समस्या र गतिरोधबारे ध्यानाकर्षण भएको जनाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ‘राज्यको महत्वपूर्ण अंगको रूपमा रहेको न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्ने गरी यथाशीघ्र निकास हुनुपर्दछ,’ भन्ने निष्कर्ष निकालेको राजनीतिक समन्वय समिति बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।
यस्तै, बैठकले राष्ट्रिय राजनीतिक घटनाक्रमको समीक्षा तथा विश्लेषण गर्दै संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रियता र लोकतन्त्रको संवर्द्धन गर्नेमा जोड दिने निर्णय समेत गरेको छ। गठबन्धनमा रहेका पाँच दलबाट दुई-दुई जना र सरकारका मन्त्री ज्ञानेन्द्रबहादुर कार्की समन्वय समितिमा छन्। दुई-दुई महिनामा आलोपालो गरी समन्वय समितिको संयोजक परिवर्तन गर्ने सहमति छ।