२०८१ वैशाख २२ गते | 4th of May 2024

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

खुल्लामन्च
 प्रकाशित: २०७८ पुष १ गते १२:११

काठमाडौं – नेपाली कांग्रेसको महामन्त्रीमा  युवा नेता द्दय  गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । महामन्त्रीको लागि भएको मतदानको बिहीबार गरिएको मतगणनामा थापाले सर्वाधिक मत ल्याउँदै विजयी भए।  थापाले ३०२३ मत पाउँदा अन्य उम्मेदवारहरु विश्वप्रकाश शर्माले १९८४, प्रकाशशरण महत १५५६, प्रदीप पौडेलले १४९३, मीनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०६ मत पाएको कांग्रेस निर्वाचन समितिले जनाएको छ। कांग्रेसले यसपटकदेखि दुवैजना महामन्त्री निर्वाचनमार्फत चयन हुने विधानमा व्यवस्था गरेको छ। सोही अनुसार थापा र शर्मा विजयी भएका हुन्। थापा दोस्रो प्रयासमा महामन्त्री बनेका हुन्। उनी तेह्रौं महाधिवेशनमा पनि महामन्त्रीका उम्मेदवार थिए। त्यतिबेला उनी तेस्रो धार भनेर चिनिएको कृष्णप्रसाद सिटौला प्यानलबाट महामन्त्रीका उम्मेदवार बनेका थिए। तत्कालीन विधान अनुसार एक जना महामन्त्रीका लागि शशांक कोइराला, अर्जुन नरसिंह केसी र गगन थापा प्रतिस्पर्धी बनेका थिए। महाधिवेशनमा कोइराला निर्वाचित भएका थिए। उनले १४१७ मत पाए। त्यस्तै केसी र थापाले क्रमशः १०१७ र ५८४ मत पाए।  महामन्त्रीमा पराजित भएपनि थापालाई सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा मनोनित गरेका थिए।

चौधौं महाधिवेशनअघि थापाले सिटौला समूह छाडेर रामचन्द्र पौडेल समूहसँग नजिकिएका थिए। शर्माको भने महामन्त्रीमा पहिलो प्रयास थियो। शर्मा तेह्रौं महाधिवेशनमा केन्द्रीय सदस्य (खुलातर्फ) मा प्रतिस्पर्धा गरेका थिए। २५ जनाको लागि भएको प्रतिस्पर्धामा शर्मा १६२० मत ल्याउँदै चौधौं स्थानमा रहेर विजयी भएका थिए। उनी त्यतिबेला देउवा प्यालनमा थिए।तेह्रौं महाधिवेशनपछि शर्मा देउवासँगै रहे। देउवाले उनलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएका थिए। देउवाका कैयौं कदमको उनले बचाउ गरेका कारण उनलाई कांग्रेसको नभइ देउवाको प्रवक्ता भएको समेत आरोप लाग्यो। देउवाले आफ्नो तर्फबाट प्रकाशशरण महत र सिटौलाका तर्फबाट प्रदीप पौडेललाई आफ्नो प्यानलको महामन्त्री राखेका थिए। त्यसपछि शर्माले सभापतिका अर्का उम्मेदवार प्रकाशमान सिंहको प्यानलमा रहेर महामन्त्रीको उम्मेदवारी दिएका थिए।

One thought on “कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

Leave a Reply

Your email address will not be published. Required fields are marked *