२०८१ वैशाख २० गते | 2nd of May 2024

म्यानमारमा बहुमूल्य रत्न ‘जेड’ को खानीमा पहिरोमा थुप्रै मानिस बेपत्ता

खुल्लामन्च
 प्रकाशित: २०७८ पुष ७ गते १३:३८

      काठमाडौं – म्यानमारमा बहुमूल्य रत्न ‘जेड’ को एउटा खानीमा गएको पहिरोमा एक सय जनासम्म मानिसहरू हराइरहेको हुनसक्ने आशङ्का गरिएको छ। उद्धार टोलीहरूले खानी नजिकैको तालमा खोजी गरिरहेका छन् र अधिकांश पीडितहरू गैरकानुनी रूपमा खानी उत्खनन् कार्यमा संलग्न व्यक्तिहरू भएको ठानिएको छ। हालसम्म एक जनाको मृत्यु भएको पुष्टि भएको छ।

उत्तरी कचिन प्रान्तको पाकान्ट क्षेत्रमा बुधवार बिहान उक्त पहिरो गएको थियो। म्यानमार पनि भनिने बर्मा जेडका लागि विश्वकै एक प्रमुख श्रोत हो र यसका खानीहरूमा कैयौँ दुर्घटना भएका छन्। लरीहरूबाट खुला खाल्डाहरूमा फालिएका ढुङ्गामाटोको ठूलो परिमाणमा बग्न जाँदा पहिरो गएको ठानिएको छ। ती ढुङ्गामाटोको कारण त्यहाँको जमिन धेरै भिरालो हुन पुगेको र रूख विरुवा केही नभएको त्यस्तो क्षेत्र खतरनाक हुनसक्ने बताइन्छ।  त्यस्तो असुरक्षित ठाउँमा बहुमूल्य पत्थरको खोजी गर्नु जोखिमपूर्ण हुने बताइन्छ। झन्डै दुई सय मानिस सहितको उद्धार टोली घटनास्थलमा पुगेको बताइएको छ। नजिकैको तालमा हराइरहेका व्यक्तिहरूको डुँगाबाट खोजी भइरहेको छ। “हामीले २५ जना व्यक्तिहरूलाई अस्पताल पठाएका छौँ र एक जनालाई मृत फेला पारेका छौँ,” उद्धार टोलीका सदस्य को नीले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *