काठमाडौं- नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ नेतृत्वले पार्टीलाई एकताबद्ध गरी अगाडी बढाउने बताउनु भएको छ । १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको शनिबार बसेको पहिलो बैठकलाई संक्षिप्त सम्वोधन गर्दै पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले पार्टीको आन्तरिक निर्वाचन सकिएकाले अब आफ्नो ध्यान पार्टीभित्र एकता कायम गरी निर्वाचनमा जानेमा केन्द्रित भएको बताउनु भयो ।
उहाँले निकट भविश्यमा स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचन गर्नु पर्ने भएकाले निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउने उद्धेश्यका साथ अघि बढ्नु पर्ने बताउनु भयो । पार्टी कार्यालय सानेपामा बसेकोे बैठकमा पार्टी सभापति एवं प्रधानमन्त्री देउवाल क्रिसमसका अवसरमा शुभकामना पनि दिनु भयो ।
बैठकले महाधिवेशनमा विभिन्न ठाउँबाट आएर नेपाली काँग्रेसलाई शुभेच्छा प्रकट गर्ने राजनीतिक दलका नेता, अधिवेशन सफल पार्न खटिने निर्वाचन समिति, शुभेच्छुक तथा सञ्चारमाध्यमहरुलाई धन्यवाद ज्ञापन गरेको छ । बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्न पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिम्मा दिने निर्णय गरेको बैठकपछि महामन्त्री गगन थापाले जानकारी दिनु भयो । त्यसअघि शनिबारै नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी एवं केन्द्रीय सदस्यहरुलाई निर्वाचन समितिका तर्फबाट प्रमाण पत्र वितरण गरिएको थियो । १४ औं महाधिवेशनबाट काँग्रेसमा १३ जना पदाधिकारीसहित १ सय ३४ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको छ ।