२०८१ वैशाख १८ गते | 30th of April 2024

नेपाल बन्यो एभिसी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फ उपाधि बिजेता

खुल्लामन्च
 प्रकाशित: २०७८ पुष १३ गते १३:३४

काठमाडौँ –  साविक विजेता नेपालले एभिसी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फ उपाधि रक्षा गरेको छ । मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा मङ्गलबार भएको फाइनलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा हरायो । नेपालले उज्वेकिस्तानमाथि २६–२४, २४–२६, २५–१५, २२–२५, १५–११ को जित निकाल्यो । नेपाली महिला टोलीले लगातार दोस्रो पटक उपाधि जितेको हो । यसअघि सन् २०१९ मा बंगलादेशमै भएको प्रतियोगितामा नेपाल लिग चरणदेखि एक सेट पनि नगुमाई च्याम्पियन बनेको थियो ।

नेपालले लिग चरणमा लगातार पाँच जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो । ६ देश सहभागी प्रतियोगिताको लिग चरणको पहिलो खेलमा नेपालले श्रीलङ्कालाई ३–२, दोस्रो खेलमा माल्दिभ्सलाई ३–० र तेस्रो खेलमा आयोजक बङ्गलादेशलाई ३–० को सोझो सेटमा हराएको थियो । चौथो खेलमा नेपालले उज्वेकिस्तानलाई ३–० र पाँचौँ खेलमा किर्गिस्तानलाई ३–० को सोझो सेटमा स्तब्ध बनाएको थियो । उज्वेकिस्तान भने लिग चरणमा दोस्रो बन्दै फाइनलमा पुगेको थियो ।