काठमाडौं – बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । अन्य तीन जनाको उपचार भइरहेको छ ।अस्पतालको क्वाटरमा बसेका कार्यालय सहयोगी धनप्रसाद भट्टराई र उनका परिवारका सदस्यहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा कालीकोटको खाडाचक्र घर भएका धनप्रसाद भट्टराई, धनप्रसादकी आमा कोकिला भट्टराई, दिदी नन्दकली र उनका तीन महीनाको छोरा इप्सन भट्टराईको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । धनप्रसादकी श्रीमती सुशीला, ३ वर्षीय छोरा विवश र भाइ नरेन्द्र भट्टराईको भेरी अस्पतालमा उपचार भइरहेको छ । श्रीमती सुशीला होसमै रहे पनि विवश र नरेन्द्रको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका इन्सपेक्टर खिमबहादुर घर्तीमगरले जानकारी दिए ।
परिवारका सातै जना सदस्य अस्पताल परिसरमै रहेको क्वाटरको एउटा कोठामा सुतेका थिए । आज बिहान अबेरसम्म पनि ढोका नखुलेपछि प्रहरीको टोली पुगेर ढोका खोल्दा सबै बेहोस अवस्थामा भेटिएका थिए । त्यसपछि उनीहरुलाई अस्पतालमा उपचार गर्न लगिएको थियो । उपचारको क्रममा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु सुतेको कोठाभित्र न्यानो बनाउन टिनको बट्टामा आगो बालेर राखेको पाइएको छ । झ्याल, ढोका बन्द भएकाले उनीहरुको निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । यद्यपि मृत्युको वास्तविक कारण भने पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै पत्ता लाग्ने इन्सपेक्टर घर्तीमगरले बताए ।
रासस