काठमाडौँ – नेपाली काँग्रेसले १४ औं महाधिबेशनवाट र्निवाचित पदाधिकारी एंव केन्द्रिय सदस्यहरुको वरीयता सार्वजनिक गरेको छ । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवासँग पराजित डा.शेखर कोइरालाको वरीयता २० औँ नम्बर कायम भएको छ । नेपाली कांग्रेसले सबै नेताको वरीयता तोकेर सार्वजनिक गरेको विवरणमा कोइरालाको वरीयता २० नम्बर उल्लेख छ ।
सभापति शेरबहादुर देउवाले सभापतिमा पराजित कोइरालाभन्दा अगाडि राप्रपा परित्याग गरी कांग्रेस भित्रिएका पूर्वसहमहामन्त्री सुनिल थापालाई राखेका छन् । थापाको वरीयता नम्बर १९ छ । १४औं महाधिवेशनबाट १३४ जना निर्वाचित भएका हुन् भने कोइराला सभापतिमा पराजित भएकोले स्वत: केन्द्रीय सदस्य बनेका हुन्। यसअघि सभापतिमा पराजित हुने उम्मेदवारलाई दोस्रो वा तेस्रो वरीयतामा राख्ने कांग्रेसको परिपाटी भए पनि देउवाले यसपटक शेखरलाई २०औँ नम्बरमा राखेका हुन् ।
कांग्रेसको १०औँ महाधिवेशनमा गिरिजाप्रसाद कोइरालाले सभापतिमा पराजित देउवालाई तेस्रो वरीयतामा राखेका थिए । पार्टी विभाजनपछि भएको ११औँ महाधिवेशनमा पराजित देउवालाई दोस्रो वरीयतामा राखिएको थियो । १२औँ महाधिवेशनमा सुशील कोइरालासँग पराजित हुँदा पनि उनलाई दोस्रो वरीयतामै राखिएको थियो । १३औँ महाधिवेशनमा सभापतिमा पराजित वरिष्ठ नेता रामचन्द्र पौडेललाई उनै देउवाले दोस्रो वरीयतामा राखेका थिए । तर, शेखर १३औँ महाधिवेशनमा सबैभन्दा धेरै लोकप्रिय मत ल्याउने उम्मेदवार हुन् । उनलाई देउवाले पार्टीको वरीयतामा ३६औँ नम्बरमा राखेका थिए । सभापतिमा ४० प्रतिशत मत ल्याएका शेखरलाई देउवाले वर्तमान पदाधिकारी र पूर्वपदाधिकारी भन्दा पनि पछिको वरीयतामा राखेका हुन् ।