२०८१ वैशाख २० गते | 2nd of May 2024

अशरफ गनी देश छोडेर किन भागे ?

खुल्लामन्च
 प्रकाशित: २०७८ पुष १५ गते १३:०७

 लण्डन – अफगानिस्तानका पूर्वराष्ट्रपति अशरफ गनीले तालिबान यो वर्षको सुरुवातमा काबुलनजिकै आएपछि देश छोड्ने आफ्नो निर्णयको बचाउ गरेका छन्। उनले “काबुललाई विनाश हुनबाट बचाउन” आफू देश छाडेर भागेको दाबी गरेका छन्। उनले अगस्ट १५ को बिहान त्यो दिन अफगानिस्तानमा आफ्नो अन्तिम दिन भएको भन्ने कुनै भान नभएको बताएका छन्।

काबुल छोड्न विमानमा उडेपछि बल्ल आफूलाई देश छोडिरहेको जस्तो लागेको उनले बताए। अन्तिम समयमा देश छोडेर हिँडेको भनेर उनको आलोचना भएको थियो। उनी हाल यूएईमा रहेका छन्। त्यो दिन बिहान तालिबान लडाकुहरूले काबुल नछिर्न सहमति जनाएको तर “दुई घण्टापछि कुरो अर्को भएको” गनीको भनाइ छ।

“तालिबानका दुई समूह दुई फरक दिशाबाट नजिकै आइरहेका थिए,” उनले भने। “र उनीहरूसँगको ठूलो द्वन्द्वले ५० लाख बासिन्दा भएको सहरलाई ध्वस्त बनाउने थियो र मानिसमा त्यसले ल्याउने विनाश ठूलो हुने थियो।” उनले आफ्नो राष्ट्रिय सुरक्षा सल्लाहकार र श्रीमतीलाई काबुल छोड्न भनेर र आफू रक्षा मन्त्रालय जान कार कुरिरहेको बताएका छन्। कारसँगै आएका ‘भयभीत’ राष्ट्रपतिका सुरक्षा प्रमुखले गनीले अडान नछोडे “उनीहरू सबै मारिने बताए।”उनले मलाई दुई मिनेटभन्दा बढी दिएनन्,” गनीले भने। “मेरो निर्देशन खोस्त सहर जाने थियो तर उनले खोस्तका साथै जलालावाद पनि तालिबानको नियन्त्रणमा पुगेको बताए।” “मलाई कहाँ जाने थाहा थिएन। जब विमान उड्यो तब बल्ल मलाई अफगानिस्तान छोड्दै गरेको थाहा भयो। त्यसैले यो सबै अचानक भएको थियो।” गनीले देश छोडेपछि उनका उपराष्ट्रपति अमरुल्लाह सालेहसहित थुप्रैले उनको आलोचना गरेका थिए। गनीले आफूसँग ठूलो धनराशि लगेको आरोप पनि लागेको थियो तर उनले त्यसलाई अस्वीकार गरेका छन् र आवश्यक परे अन्तर्राष्ट्रिय अनुसन्धानलाई स्वीकार्ने बताएका छन्।

-बिबिसी