२०८१ वैशाख २२ गते | 4th of May 2024

पत्रकार पन्थीलाई अमेरिकामा मानार्थ विद्यावारिधी

खुल्लामन्च
 प्रकाशित: २०७८ पुष २० गते १९:५६

न्युयोर्क –  लामो समयदेखी अमेरिकामा व्यवसायिक पत्रकारिता गर्दै आईरहेका चर्चित युवा किशोर पन्थीले मानार्थ विद्धावारिधी प्राप्त गरेका छन् । अमेरिकामा सकृय नेपाली पत्रकारहरुमा सम्भवत: एक्ला व्यवसायिक पत्रकार पन्थी नेपालमा पिठ्युमा एन्टेना बोकेर रेडियो बजाउने पत्रकारका रुपमा चर्चित छन् । सामुदायिक पत्रकारिताका साथमा ‘अध्यागमन  जानकरी’ ले प्रवासमा लोकप्रिय पन्थी यो पदवी पाउने पहिलो नेपाली पत्रकार हुन् । अमेरिकाजस्तो व्यस्त मुलुकमा पत्रकारितालाई मात्र अंगालेका पन्थीलाई प्राप्त यो सम्मानलाई पत्रकारहरुको शिर उंचो बनाएको छ ।

पत्रकारिता मार्फत् मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट सम्मान गरेको छ । अमेरिकाको सिका युनिभर्सिटीले पत्रकार पन्थीलाई ह्युमेन लेटर्समा मानार्थ पीएचडीबाट सम्मान गरेको हो । मानवताको भलाईमा योगदान दिएका कारण पन्थीलाई यो सम्मान प्रदान गरिएको युनिभर्सिटीकी प्रेसिडेण्ट श्यारोन जे बाक्वेडो फिनले जानकारी दिएकी छिन् । आगामी जनवरी २० का लागि भर्चुअल रुपमा ग्रयाजुएसन कार्यक्रम तय गरिएको उनले जानकारी दिइन् ।

यो युनिभर्सिटीले समाजमा कैयन प्रकारका मानवीय योगदान गरेका व्यक्तिलाई हरेक बर्ष मानार्थ पीएचडीबाट सम्मान गर्दै आएको छ । जसका लागि प्रारम्भिक योग्यता स्वरुप १० बर्षभन्दा लामो सामाजिक योगदान गरेको हुनुपर्ने प्रावधान रहेको छ । पत्रकार पन्थी न्युयोर्कबाट ११ बर्षदेखि प्रकाशित हुदै आएको खसोखासका प्रधानसम्पादक हुन् भने झण्डै २ दशकदेखि पत्रकारितामा सकृय रहदै आएका छन् । अमेरिकामा एकदशकभन्दा लामो समय पूर्णकालिन पत्रकारितामा सकृय पत्रकार पन्थीले अमेरिकामा रहेको नेपाली समुदायको हितलाई केन्द्रमा राखेर पत्रकारिता गर्दै आएका छन् । पत्रकार पन्थी अमेरिकी अध्यागमन, राजनीति र सामाजिक विषयमा कलम चलाउँछन् ।

सिका युनिभर्सिटीबाट पैगम्बर शेफर्ड बुशिरी लगायतका चर्चित व्यक्तित्वहरु समेत मानार्थ पीएचडीबाट सम्मानित भइसकेका छन् । त्यस्तै अमेरिकाका केही सांसदहरुले समेत सिका युनिभर्सिटीबाट मानार्थ पीएडी प्राप्त गरेका छन् । त्यस्तै बोस्टन प्रहरी विभागका ४२ औं कमिश्नर विलियम ग्रसले पनि सिका युनिभर्सिटीबाट मानार्थ पीएचडी प्राप्त गरेका थिए । उनले सन् २०१५ मा बोस्टन प्रहरीको सुपरिटेण्डेण्ट इन चिफ रहदा यो मानार्थ पीएचडी प्राप्त गरेका हुन् ।