२०८१ वैशाख २२ गते | 4th of May 2024

प्रधानमन्त्री देउवाले दिए यस्तो निर्देशन

खुल्लामन्च
 प्रकाशित: २०७८ पुष २१ गते १३:५७

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षा अनुसार काम गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन्।  बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार आयोजित संयुक्त बैठकमा प्रधानमन्त्री देउवाले मुलुक र जनताले अपेक्षा गरे अनुसार काम गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका हुन्। उनले मुलुकको विकास र निर्माणको कामलाई तीव्रता दिने गरी बजेट परिचालन गर्न पनि अर्थ मन्त्रालयलाई सचेत गराए। प्रधानमन्त्री देउवाले जनताको जीवन रक्षाका निमित्त पनि उत्तिकै चनाखो भएर लाग्न मन्त्री तथा सचिवहरुलाई सचेत गराएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रको अवस्थाबारे प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए। प्रधानमन्त्री देउवाले ती समस्या समाधान गरेर जनसेवाको कामलाई रफ्तारमा अघि बढाउनुपर्ने बताए।

यी हुन् प्रधानमन्त्री देउवाले  दिएका निर्देशन :
१. जनतालाई दिने सबै सेवा छिटो र छरितो गर्नेगरी सबै तहका कार्यालयहरुलाई चुस्त बनाउने।
२. अत्यावश्यक सेवाहरु जनताको घर दैलोमो पुर्‍याउने सरकारको दायित्व भएकाले सो अनुसार काम गर्ने।
३. विकास निर्माणका परियोजनाहरुको गति बढाउनका लागि अनावश्यक झन्झट हटाउने र कानुनी समस्या भए त्यसमा पनि सुधार गर्ने।
४. कोभिडको जोखिम कायमै रहेकाले खोप लगाउनयोग्य सबै नागरिकलाई खोप लगाउने प्रबन्ध प्रभावकारी रुपमा अघि बढाउने।
५. कर्मचारीको क्षमता बृद्धि गरेर विकास आयोजनाहरुको कार्यान्वयन पक्षलाई चुस्त बनाउने।
६. राष्ट्रिय गौरवका आयोजनाहरुको गति सन्तोषजनक नभएकाले प्रभावकारी रुपमा काम गर्नेगरी अनुगमन र मूल्यांकन संयन्त्र बनाउने।
७. सम्भावित लगानीका क्षेत्रहरु पहिचान गरी निर्यातलाई बढाउनेगरी परियोजनाहरु अघि बढाउने।
८. स्वादेशी र विदेशी लगानीकर्ताहरुलाई लगानीमा प्रोत्साहन गर्न स्वागत र सम्मानको कार्यक्रम अघि बढाउने।
९. जलविद्युत, पर्यटनजस्ता क्षेत्रमा लगानी बढाउनेगरी नीति तथा कार्यक्रम ल्याउने।