२०८१ वैशाख १८ गते | 30th of April 2024

नेता शेखर कोइराला पक्षले सभापति शेरबहादुर देउवामाथि दबाब बढाउने

खुल्लामन्च
 प्रकाशित: २०७८ पुष २१ गते १४:२१

काठमाडौं   –  नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले सभापति शेरबहादुर देउवामाथि दबाब बढाउने भएको छ। कोइराला प्यानलबाट पदाधिकारी पराजित नेतालाई सभापति देउवाले केन्द्रीय सदस्य मनोनीत नगरेपछि यो समूह असन्तुष्ट छ। पार्टीभित्र गुटबन्दी नगर्ने र भागबन्डा नगर्ने अडान लिएका कोइराला पक्षका नेताहरू नै आन्तरिक बैठक गर्दै घुमाउरो तरिकाले भागबन्डा हुनुपर्नेमा लबिङ गर्दैछन्। पछिल्लो समय सभापति देउवाले राष्ट्रिय सभा सदस्य उम्मेदवार तय गर्दा पनि शेखर पक्षसँग छलफल गरेका थिएनन्। एकपछि अर्को घटनाक्रम हेर्दा सभापति देउवाले पेलेरै अघि बढ्न चाहेको देखिएकोले सभापतिमाथि दबाब बढाउने निष्कर्षमा कोइराला पक्ष पुगेको छ।पार्टीभित्र समान अवसर र न्याय हुनुपर्ने माग गर्दै कोइराला पक्षले मंगलबार र बुधबार काठमाडौंमा आफूनिकट नेताहरूको भेलासमेत गरेका थिए।

छलफलमा सहभागी नेता चन्द्र भण्डारीका अनुसार  १४ औं महाधिवेशनमा कोइराला पक्षका नेताहरू पराजित हुनुका कारण, सभापति देउवाको पेलेरै जाने नीति, विधान उलंघनका विषय तथा कार्यकर्तालाई समान अवसर र न्यायलगायत विषयमा  छलफल केन्द्रित थियो।  सभापति देउवा एकलौटी हिसावले अगाडि बढ्न खोजेकोमा कोइराला पक्षले विरोध गरेका छन्। कांग्रेस विधानअनुसार महाधिवेशन प्रतिनिधि मध्येबाट समावेशी सिद्धान्तलाई ख्याल गर्दै सभापति देउवाले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउँछन्। अहिलेसम्म १३ जना मनोनीत भइसकेका छन्।

शेखर पक्षले बोलाएको भेलामा रामचन्द्र पौडेल र शशांक कोइराला भने उपस्थित भएका थिएनन्। पूर्वमहामन्त्री कोइराला शेखर पक्षबाट पनि केन्द्रीय सदस्य उम्मेवार थिए भने सभापति देउवा पक्षबाट पनि केन्द्रीय सदस्यमा उनको नाम थियो। शेखर पक्षका नेताहरूले महाधिवेशनमा रामचन्द्र ‘मौन’ बसेर सभापति देउवालाई नै सहयोग गरेको निचोड निकालेका छन्। भेलामा महामन्त्री गगन थापाले ४० प्रतिशत मत ल्याएका नेतालाई नेतृत्वले स्वीकार गर्नुपर्ने बताएका थिए। सभापति पदमा देउवासँग पराजित हुँदा शेखरले ४० प्रतिशत मत ल्याए पनि देउवाले उनलाई स्वीकार नगरेको आरोप छ। आन्तरिक बैठकमा शेखरलाई वरिष्ठ नेता भनेर सम्बोधन गरिएको थियो। विधानमा वरिष्ठ नेता रहने व्यवस्था नभए पनि कांग्रेसमा सभापति पराजित व्यक्तिलाई वरिष्ठ नेता भन्ने परम्परा छ।