२०८१ वैशाख १९ गते | 1st of May 2024

कोरोनाको संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन राज्यका निकायलाई प्रधानमन्त्रीको निर्देशन

खुल्लामन्च
 प्रकाशित: २०७८ पुष २३ गते १३:५०

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा कोरोनाको संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन राज्यका निकायलाई निर्देशन दिएका छन्। नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्न थालेपछि शुक्रबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकमा प्रधानमन्त्रीले राज्यका सम्पूर्ण निकायलाई निर्देशन दिएका हुन्। ‘नागरिकको जीवन बचाउनु पहिलो प्राथमिकता हुन्छ। जीवन रक्षा गर्नका लागि आवश्यक हरेक प्रकारको तयारीमा रहनुस्,’प्रधानमन्त्रीको निर्देशन उद्धृत गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भनिन्,‘तयारीमा कुनै कसर बाँकी नराख्नुस्। खोप सबैलाई उपलब्ध गराउनुपर्छ।’

प्रधानमन्त्रीले स्कूल, कलेजदेखि विभिन्न ठाउँमा खोप केन्द्र स्थापना गरेर खोप अभियान नै चलाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छन्। प्रधानमन्त्रीले स्वास्थ्य सामग्रीदेखि अन्य आवश्यक सामग्रीको पनि पूर्वतयारी गर्नुपर्ने बताएका छन्। बैठकमा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सीमानाकालाई व्यवस्थित बनाउने पनि निर्णय भएको छ। बैठकमा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमणको अवस्था र मन्त्रालयले गरिरहेको कामका बारेमा ब्रिफिङ गरेका थिए। नेपाली सेनाले पनि पछिल्लो अवस्थाका बारेमा बैठकमा जानकारी गराएको थियो।

आजको बैठकमा कोभिडको बढ्दो दर कस्तो छ र विश्वमा कहाँ-कहाँ ओमिक्रोन कसरी वृद्धि भइरहेको छ भन्ने लगायतका विषयमा छलफल भएको थियो। नेपालमा पछिल्लो थपिएका संक्रमितमध्ये अधिकांशजसो भारतबाट नेपाल भित्रिएका व्यक्ति रहेकाले पनि भारतसँग सीमा जोडिएको क्षेत्रमा नाकामा कडाइ गर्ने सरकारले तयारी गरेको छ।