२०८१ वैशाख २१ गते | 3rd of May 2024

संविधानमाथि बारबार आक्रमण भइरहेकोभन्दै पूर्वराष्ट्रपतिको चिन्ता

खुल्लामन्च
 प्रकाशित: २०७८ पुष २४ गते १४:२६

काठमाडौं- पूर्वराष्ट्रपति रामवरण यादवले संविधानमाथि बारबार आक्रमण भइरहेको बताएका छन्। शनिबार  पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले पछिल्लो एक वर्षदेखि त दुई/दुई पटक संविधान र सदनमाथि आक्रमण भएको बताए। प्रधानमन्त्री र राष्ट्रपति लगायतले मिलेर नै संविधानलाई खत्तम गर्न खोजेको उनले बताए।

उनले जुन संस्थाहरु स्थापना भएका छन्, तिनलाई ‘पौष्टिक आहार’ दिएर मजबुत गर्नुपर्ने बताए। लोकतन्त्रको तीनवटा पिलरमध्ये कार्यकारिणीले सदनमाथि बारबार प्रहार गरेको उनले दोहोर्‍याए। ‘पाँच वटा पार्टी, नागरिक समाज, बुद्धिजीवी, नेपाली जनता, अदालतले त्यसलाई कुनै न कुनै प्रकारले बचायो’, उनले भने। अदालत र सदनको स्थितिप्रति चिन्तित सुनिएका उनले सोधे- ‘यो व्यवस्थालाई बचाएर लग्ने कि नलग्ने? यहाँ राष्ट्रपतिको र सरकारको के कर्तव्य छ?’ उनले अदालत तथा बन्धक बनाएर राखिएको प्रतिनिधि सभालाई खुलाउनका लागि राष्ट्रपति र सरकार, राजनीतिक पार्टी, नागरिक समाज र नेपाली जनताको कर्तव्य के छ? भन्ने प्रश्न गरे।

‘त्यो कर्तव्य हामीले निर्वाह गर्ने कि नगर्ने? यसलाई व्यवस्थापन गर्दै यसबाट समाजवादको स्थापना गर्नका लागि कोसिस गर्ने कि नगर्ने? मेरो चिन्ता त्यहाँ छ’, उनले भने।