२०८२ पुष २८ गते | 12th of January 2026

नारायणहिटी दरबारभित्र क्यान्टिन सञ्चालन गर्न दिदाँ मिलेमतो भेटियो : छानबिन समिति

खुल्लामन्च
 प्रकाशित: २०७८ पुष २६ गते ११:२६

काठमाडौं – नारायणहिटी दरबारभित्र क्यान्टिन–क्याफ्टेरिया सञ्चालनका सम्बन्धमा छानबिन गर्न बनेको समितिले आफ्नो प्रतिवेदन पर्यटनमन्त्री प्रेम आलेलाई बुझाएको छ । सहसचिव होमप्रसाद लुइँटेलको नेतृत्वमा समिति बनेको थियो । समितिले दिएको प्रतिवेदनको निष्कर्षमा क्याफ्टेरियाले प्रयोग गर्न पाउने क्षेत्रफल र स्थानको सीमांकन नभएको, कार्यकारी निर्देशकको ठूलो कमजोरी देखिएको,  जिम्मेवारी पूरा भएको नदेखिएको निष्कर्ष निकालेको छ ।

करिब १४ रोपनी जग्गा कब्जा गरेर अरु संरचना निर्माण भइरहेको प्रतिवेदनमा उल्लेख छ । संग्रहालयको मूल गेटनजिकको जग्गा बतास समूहलाई दिँदा मिलेमतो देखिएको  समितिले निष्कर्ष निकालेको छ।  छानबिन समितिले  ठेक्का प्रक्रियामा मिलेमतो देखिएको जनाएको हो। नारायणहिटी दरबार संग्रहालय तथा गणगन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले क्यान्टिन सञ्चालनका लागि क्षेत्रफल र स्थानको सीमांकन नगरी जग्गा ओगट्न दिएको समितिले बताएको छ।  ‘यसरी क्षेत्रफल र स्थानको सीमांकन नगरी जग्गा ओगट्न प्रोत्साहन गरेको देखियो,’ छानबिन समितिका संयोजक लुइँटेलले भने।

विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले पूर्वस्वीकृति नलिइकन दरबारको सम्पत्ति प्रयोग गर्न दिएको प्रतिवेदनमा उल्लेख गरिएको छ। ‘स्वीकृति नदिइकन जग्गा प्रयोग गर्न दिँदा सम्पत्तिको संरक्षण र सम्बर्द्धनको लागि अनुगमन नगरेको देखियो,’ लुइँटेलले भने। १४ रोपनी जग्गामा बतासले संरचना बनाएको देखिएको समितिले जनाएको छ। यस्तै, सोही ठाउँमा रहेको बंकरको पनि दुरूपयोग गरेको समितिको निष्कर्ष छ।