२०८१ वैशाख २१ गते | 3rd of May 2024

६ महिनामा शतप्रतिशत पुँजीगत खर्च गरिसक्न विभिन्न मन्त्रालयलाई अर्थमन्त्रीको निर्देशन

खुल्लामन्च
 प्रकाशित: २०७८ पुष २७ गते ११:३८

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८/०७९ को बाँकी ६ महिनामा शतप्रतिशत पुँजीगत खर्च गरिसक्न विभिन्न मन्त्रालयलाई निर्देशन दिएका छन्। मंगलबार मन्त्रालयमा आर्थिक वर्ष २०७८/०७९ को हालसम्मको खर्चको समीक्षा बैठकमा उनले सचिवहरूलाई यो निर्देशन दिएका हुन्।  आवश्यक परे मध्यरातमा पनि आफू सहयोग गर्न तयार रहेको अर्थमन्त्री शर्माले बताए। ‘यो आर्थिक वर्षको ६ महिना बितिसक्यो। बाँकी ६ महिनामा शतप्रतिशत बजेट खर्च गर्नुपर्छ’, उनले भने, ‘त्यसको लागि मैले रातको १२ बजे पनि तपाईहरूलाई सहयोग गर्न तयार छु।’

मन्त्री शर्माले बजेट खर्च गर्न अन्य उपायहरू पनि खोज्ने बताए। उनले ठूला योजनाहरूमा स्थानीय तह र स्थानीय जनतालाई सहभागी गराएर अगाडि बढाउनुपर्नेमा जोड दिए। उनीहरूलाई सहभागी गराए मात्र ठूला योजनाहरूमा छिटो काम गर्न सकिने उनको भनाइ छ ।  विद्यमान प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता पनि मन्त्री शर्माले औंल्याए। उनले फाइल हरेक मन्त्रालयमा बोकेर हिँड्दा ढिला हुन भन्दै डिजिटल माध्यममा लैजानुपर्ने बताए। ‘फाइल बोकेर विभाग, मन्त्रालय धाउँदा दुई-चार दिन जान्छ। यहाँ पनि समय गइरहेको छ। यसलाई डिजिटल माध्यममा लैजानुपर्‍यो। डिजिटलमै अनुरोध गर्ने र स्वीकृति गर्ने हुनुपर्‍यो। टिप्पणी उठाएर राख्ने काम आफ्नो ठाउँमा गर्नुपर्छ,’ उनले भने।  पछिल्लो समय पुँजीगत खर्च बढाउन अर्थ मन्त्रालयले अन्य मन्त्रालयहरूलाई ताकेता गर्दै आएको छ। सोमबारसम्मको तथ्यांकअनुसार पुँजीगत खर्च ९.३९ प्रतिशत, चालु खर्च ३८.९ र वित्तीय खर्च २५.४१ प्रतिशत खर्च भइसकेको अर्थ मन्त्रालयले जानकारी दिएको छ। हालसम्म समग्र २९.११ प्रतिशत बजेट खर्च भइसकेको अर्थमन्त्रालयको भनाइ छ।