२०८१ वैशाख २१ गते | 3rd of May 2024

सभापतिमा गुन लगाए वापत मन्त्रीमन्डलमा प्रकाशमानको चर्चा

खुल्लामन्च
 प्रकाशित: २०७८ माघ ३ गते १६:४३

काठमान्डौं – प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद्का साथै आफ्नो सचिवालयलाई पूर्णता दिने तयारीमा जुटेका छन् । केही दिनयता प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् र सचिवालयलाई पूर्णता दिने विषयमा छलफल थालेका छन् । देउवा सचिवालयका अनुसार एक हप्ताभित्र मन्त्रिपरिषद् र सचिवालयलाई पूर्णता दिने गरी छलफल थालिएको छ । गत असार २९ गते प्रधानमन्त्री भएका देउवाले असोज २२ मा मन्त्रिपरिषदलाई पूर्णता दिएका थिए । तर यो बीचमा दुई मन्त्रीले राजीनामा दिएका थिए । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमाल र रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएपछि दुई मन्त्रालय मन्त्रीविहीन बनेको हो । सोही मन्त्रालयमा देउवाले नयाँ नियुक्ति गरेर मन्त्रिपरिषदलाई पूर्णता दिन लागेका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग नाम जोडिएपछि असोज २२ मा मन्त्री भएका हमालले असोज २४ गते राजीनामा दिएका थिए । उनले राजीनामा दिएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय देउवाले नै सम्हाल्दै आएका छन् । यस्तै १४ औं महाधिवेशनमा महामन्त्रीमा नराम्रो पराजय भोगेपछि रिजालले पनि रक्षामन्त्रीबाट राजीनामा दिएका थिए । रक्षा मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री देउवाले सम्हालेको अवस्था छ ।

मन्त्रालय हत्याउन सत्तारुढ दलमा हानथाप

रिक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय लिन सत्तारूढ दलहरूबीच हानथाप चलेको छ । काँग्रेसको कोटाबाटै हमाल मन्त्री नियुक्त भएको भन्दै प्रतिरक्षा गरेका सत्ता घटक माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको पनि उक्त मन्त्रालयमा दाबी छ । तर, प्रधानमन्त्री देउवा भने उक्त मन्त्रालय काँग्रेसकै भागमा राख्न लागि परेका छन् ।

देउवाले राज्यमन्त्री उमेश श्रेष्ठलाई उद्योगमन्त्री बनाउने चर्चा छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले भने तेजुलाल चौधरीको नाम देउवा समक्ष राखेका छन् । पौडेल असोज २२ मै चौधरीलाई मन्त्री बनाउन चाहेका थिए । तर देउवाले दिलेन्द्र बडू र मिनेन्द्र रिजाल रोजेपछि चौधरी मन्त्री बन्नबाट बन्चित भएका थिए । उनी उक्त दुई मन्त्रालयमा नयाँ मन्त्री ल्याउने तयारीमा छन् ।

प्रकाशमानको नाम चर्चामा

देउवाले यस विषयमा पार्टीभित्र छलफल थालेको पाइएको छ । शनिबार अपरान्ह नेता प्रकाशमान सिंहलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएका थिए । सिंह काठमाडौंका जिल्ला काँग्रेस सभापति सबुज बानियाँलाई साथमा लिएर बालुवाटार पुगेका थिए । प्रधानमन्त्री देउवा र सिंहबीच करिब १ घण्टा छलफल भएको थियो ।

मन्त्रिपरिषदलाई पूर्णता दिने क्रममा महाधिवेशनमा सिंहले लगाएको गुन तिर्न देउवा तयार देखिएका छन् । सिंह समर्थन पाएपछि दोस्रो चरणबाट सभापतिमा दोहोरिन सफल भएका थिए । यतिबेला देउवाले सिंहलाई उपप्रधानमन्त्रीसहित सरकारमा ल्याउन चाहेका बुझिएको छ । सिंह सरकारमा सहभागी नभएको खण्डमा उनको सिफारिसमा राजन केसीलाई मन्त्री बनाउने तयारी भइरहेको छ ।

सिंह मन्त्री बन्न तयार भए उपप्रधानसहित गृहमन्त्री बनाउने सम्भावना छ । वर्तमान गृहमन्त्री बालकृष्ण खाँणलाई रक्षामन्त्रीको जिम्मेवारी दिने सकिने विषयमा पनि देउवाले छलफल थालेको स्रोतले रातोपाटीलाई बतायो । यस विषयमा खाण पनि सकारात्मक नै रहेको नेताहरु बताउँछन् । देउवाले सिंहलाई कुनै न कुनै महत्वपूर्ण जिम्मेवारी दिने योजना बनाएको पाइएको छ । सरकारमा सहभागी नहुने भए संसदीय मोर्चा सम्हाल्न पनि देउवाले सिंहलाई प्रस्ताव गरेका थिए । विजय कुमार गच्छदारको सांसद पद निलम्बन भएपछि काँग्रेस संसदीय दलको उपनेता छैन । तर देउवासँग संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेकाले सिंह उपनेता हुने सम्भावना करिब छैन ।

उनले देउवाको उक्त प्रस्ताव अस्वीकार गरिसकेका थिए । तर मन्त्री बन्ने विषयमा भने सिंह सकारात्मक नै रहेको बालुवाटार स्रोतको भनाइ छ । यता नेता सिंहको सचिवालयले भने मन्त्री हुने कुरामा सत्यता नरहेको जिकिर गरेको छ ।

सिंहका प्रेस संयोजक युपी लामिछानेका अनुसार शनिबारको छलफलमा पार्टीलाई विधिसम्मत चलाउने विषयमा मात्रै कुराकानी भएको थियो । उनले भने, ‘मन्त्री बन्ने कुरामा कुनै सत्यता छैन । शनिबारको छलफलमा पार्टीलाई विधिसम्मत सञ्चालन गर्ने विषयमा मात्र छलफल भएको हो । अरु सबै हल्ला हुन्,’ उनले भने ।