२०८१ भदौ ३१ गते | 16th of September 2024

स्थानीय तहको निर्वाचन आगामी वैशाखमा नै गर्न सत्ता साझेदार दलहरु सहमत

खुल्लामन्च
 प्रकाशित: २०७८ माघ ४ गते १३:०२

काठमाडौं- स्थानीय तहको निर्वाचन आगामी  वैशाखमा नै गर्न सत्ता साझेदार दलहरु सहमत भएका छन् । तर निर्वाचनको मिति भने आजको गठबन्धनको बैठकले तय गर्न सकेन । मितिका विषयमा थप गृहकार्य गर्ने र अर्को बैठक बस्ने गरी आजको सत्ता साझेदार दलहरुको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भर्खर सम्पन्न बैठकमा आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएको थियो ।

छलफलपछि सरकारका प्रवक्ता एवं संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन बैशाखमै सम्पन्न गर्न आफूहरु सहमत भएको भएपनि केही गृहकार्य बाँकी रहेकोले अर्को बैठकबाट निर्वाचनको मिति टुंगिने बताउनुभयो । आज सत्तारुढ गठबन्धनका मुख्य दुई जना नेताहरु बैठकमा उपस्थित हुन नसकेपछि सबै कुराको निधो गर्न नसकिएको नेताहरुले बताएका छन । आजको बैठकमा माधवकुमार नेपाल र उपेन्द्र यादव अनुपस्थित थिए ।