२०८१ वैशाख २१ गते | 3rd of May 2024

नेपालमा बसेर अमेरिकामा जुवा खेलाउने गिरोह पक्राउ

खुल्लामन्च
 प्रकाशित: २०७८ माघ ६ गते १२:३३

काठमाडौं –  नेपालमा बसेर अमेरिकामा जुवा खेलाउने एक गिरोहलाई प्रहरीले पक्राउ गरेकाे छ ।  एसएसपी वसन्तबहादुर कुँवरले नेपालबाट मोबाइल एप्लिकेसनमार्फत अमेरिकामा जुवा खेलाएको अभियोगमा गिराेहमा संलग्न १२ जनालाई पक्राउ गरिएको बताए ।  पक्राउ पर्नेमा नेपालका मुख्य नाइके सुजेन्द्र थापा, समिर थापा, कविता थापा, प्रदीपमान सिंह बस्नेत, बुद्ध महर्जनसहित मनिष थापा, रविन खड्का, रोजा महर्जन, शाहिल महर्जन, हनिशा महर्जन, विनोद ठगुन्ना र रमादेवी श्रेष्ठ छन् ।  कुँवरका अनुसार गिराेहमा ४ महिला र ८ पुरुष संलग्न रहेका छन् । कीर्तिपुर नगरपालिकास्थित चोभार, नगाउँ र बागभैरवस्थित विभिन्न घरहरूमा खानतलासी गरी अनलाइन जुवा खेलाइरहेको अवस्थामा उनीहरूलाई जुवा खेलाउन प्रयोग हुने मोबाइल, ल्यापटपलगायत उपकरणहरूसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका मध्ये सुजेन्द्र थापा, प्रदीपमान सिंह बस्नेत र बुद्ध महर्जनले अनलाइन जुवा खेलाउन सम्पूर्ण तयारी मिलाई ३ वटा घरमा २४ सै घण्टा सिफ्टवाइज कर्मचारीसमेत राखेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसरी राखिएका कर्मचारीले फेसबुकबाट अमेरिकी र युरोपेली नागरिकलाई साथी बनाई अनलाइन जुवा खेल्ने लिङ्क शेयर गरी अमेरिकन डलर लोड गर्न लगाई गेम खेलाउने गरेको पाइएको प्रहरीको भनाइ छ । उनीहरुले कम्तिमा १० डलर वा त्योभन्दा बढी राखेर खेल्नुपर्ने गरी मोबाइल एप्लिकेसनमार्फत जुवा खेलाइरहेकाे प्रहरीकाे अनुसन्धानबाट खुलेकाे छ । उनीहरुले जुवा खेलाएबापत कमिसन पाउने गरेको कुँवरले बताए ।