२०८१ वैशाख १५ गते | 27th of April 2024

तनहुँ जलविद्युत आयोजनालाई जनमैत्री हुने गरी काम गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीको निर्देशन

खुल्लामन्च
 प्रकाशित: २०७८ माघ ८ गते १२:३२

काठमाडौं  – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले तनहुँ जलविद्युत आयोजनालाई जनमैत्री हुने गरी काम गर्न निर्देशन दिनुभएको छ । शनिबार निर्माणधीन आयोजनाको स्थलगत निरीक्षण तथा अवलोकनपछि आयोजित ब्रिफिङ कार्यक्रममा सो कुरा बताउनुभएको हो । स्थलगत अवलोकन गरेर उहाँले हालसम्म आयोजनाका प्राविधिक पक्ष, प्रसारण तथा वितरण लाइन, सुरुङ मार्ग, ड्यामलगायतको भौतिक प्रगतिबारेमा जानकारी लिनुभएको छ । कुलेखानी पछिको सुख्या याममा अभाव नहुने जलाशाययुक्त आयोजना निकै महत्वपूर्ण र ऐतिहासिक भएको उल्लेख गर्नुभयो । ‘यहाँको समाजसँग अझै घुलमिल बन्नुपर्छ, स्थानीय सरकारसँग समन्वय गरेर अपनत्व बढाउनुपर्छ’, मुख्यमन्त्री पोखरेलले भन्नुभयो । स्थानीयको जीवनस्तर उकास्ने, विस्थापित परिवारलाई रोजगारी दिने सन्देश दिनको लागि सबैको जिम्मेवारी भएको पोखरेलले बताउनुभयो ।

कार्यान्वयनमा अघि बढेको महत्वपूर्ण योजना भएको उल्लेख गर्दै स्रोत साधन, प्रशासनिक र स्थानीय कुनै पनि कारणले ढिलो हुन नहुने उहाँको भनाइ छ । तनहुँ जलविद्युत कम्पनीका प्रवन्ध सञ्चालक किरणकुमार श्रेष्ठ, आयोजना प्रमुख राजाभाइ शिल्पाकारसँग मुख्यमन्त्री पोखरेलले कार्य प्रगतिको बारेमा जानकारी लिनुभएको छ ।

गण्डकी प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा.रघुराज काफ्लेले ढिलो हुँदा लागत बढ्ने हुँदा समयमै कसरी काम गर्न सकिन्छ भन्ने कुरालाई ध्यान दिएर अघि बढ्न उपयुक्त हुने बताउनुभयो । आयोजनाको जलाशय क्षेत्रमा जमिन र घना जङ्गल भएकाले वातावरणीय प्रभाव तुलनात्मक रुपमा न्यून क्षति हुने गरी काम गर्न भनिएको छ । आयोजना निर्माणका क्रममा जलाशय क्षेत्र, बाँध र विद्युत गृह क्षेत्र, भौतिक संरचनाका क्षेत्र र तल्लो तटीय क्षेत्रमा केही प्रभाव रहे पनि आयोजनाको प्रभाव ठूलो नहुने बताइएको छ ।

एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, यूरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर गरेर वित्तीय व्यवस्थापन गरिएको छ । तनहुँमा निर्माणधीन यस जलविद्युत आयोजना १४० मेगावाट क्षमताको रहेको छ ।