२०८० फागुन १८ गते | 1st of March 2024

६ कम्पनीलाई एक करोड २६ लाख ६२ हजार २ सय ९० कित्ता आइपिओ निष्कासनका लागि अनुमति

खुल्लामन्च
 प्रकाशित: २०७८ माघ १० गते १३:५६

काठमाडौँ –  नेपाल धितोपत्र बोर्डले ६ कम्पनीलाई एक करोड २६ लाख ६२ हजार २ सय ९० कित्ता आइपिओ निष्कासनका लागि अनुमति दिएको छ ।

बोर्डले एक अर्ब २६ करोड ६२ लाख २९ हजार रुपैयाँ बराबरका प्राथमिक शेयर निष्कासनको अनुमति प्रदान गरेको जनाएको छ । त्यस्तो प्राप्त गर्नेहरूमा बलेफी हाइड्रोपावर, ग्रीन भेन्चर, नेस्डो समृद्ध लघुवित्त, जालपा सामुदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपालले आइपिओ जारी गर्न अनुमति पाएको नेपाल धितोपत्र बोर्डका प्रवक्ता एवं कार्यकारी निर्देशक निरज गिरीले जानकारी दिनुभयो ।

स्वीकृति पाएका कम्पनीमध्ये ग्रीन भेन्चरस लिमिटेड सर्वाधिक आइपिओ निष्कासनको तयारीमा छ । जलविद्युत समूह अन्तर्गतको ग्रीन भेन्चरस कम्पनीले ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० हजार कित्ता आइपिओ निष्कासनको अनुमति पाएको हो ।

दोस्रोमा बलेफी हाइड्रोपावरले ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९४० कित्ता बराबरको आइपिओ निष्कासन स्वीकृति पाएको छ । यस्तै, राष्ट्र उत्थान लघुवित्तले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ताका लागि निष्कासनको अनुमति प्राप्त गर्दा  नेस्डो समृद्ध लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता र जालपा सामुदायिक लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता निष्कासनको स्वीकृति पाएको छ ।

लगानी उपसमूहको  इमर्जिङ नेपाललाई भने बोर्डले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ताका लागि निष्कासन अनुमति दिएको छ ।