२०८१ साउन १२ गते | 27th of July 2024

स्थानीय तह निर्वाचनको मिति तत्काल तोक्न सरकारलाई निर्वाचन आयोगको आग्रह

खुल्लामन्च
 प्रकाशित: २०७८ माघ ११ गते १४:४३

काठमाडौं– निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मिति तत्काल तोक्न सरकारलाई आग्रह गरेको छ। आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले आज एक विज्ञप्ति जारी गर्दै सरकारलाई मिति तोक्न आग्रह गरिएको जानकारी दिएका हुन्। निर्वाचनको मिति तोकिएमा २०७९ वैशाख मसान्तभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आयोग तयारी अवस्थामा रहेको जनाएको छ। स्थानीय तहको निर्वाचन व्यवस्थापनका लागि कानुनतः आयोगलाई सामान्यतया १२० दिन निर्वाचन अवधि आवश्यक पर्ने हुन्छ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन, मतदानस्थलहरुको पुनरवलोकन र निर्धारण तथा निर्वाचन सम्पन्न गर्न आवश्यक अन्य तयारीका कार्यहरु निरन्तर गरिरहेको हुँदा आयोगले प्रस्ताव गरे अनुसार नै मिति तोक्न आग्रह गरिएको छ। ‘वर्तमान संवैधानिक एवम् कानुनी व्यवस्थाको आधारमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने काम जति विलम्व हुँदै जान्छ, त्यति नै निर्वाचन व्यवस्थापनको कार्य व्यवहारिक एवम् प्राविधिक कारणले जटिल बन्दै जान्छ,’ आयोगले भनेको छ, ‘यो तथ्यलाई दृष्टिगत गरी स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा (१) बमोजिम आयोगको परामर्शमा आगामी स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न नेपाल सरकार समक्ष निर्वाचन आयोग आग्रह गर्दछ।’स्थानीय तहको निर्वाचन २०७४ वैशाख ३१ गते पहिलो चरण, असार १४ गते दोश्रो चरण र असोज २ गते तेश्रो चरणमा सम्पन्न भएकोमा पहिलो चरण २०७४ वैशाख ३१ गतेलाई आधार मानी स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था बमोजिम स्थानीय तहका सबै निर्वाचित पदाधिकारीहरुको कार्यकाल आगामी २०७९ जेठ ५ मा समाप्त हुने आयोगले यसअघि नै ध्यानाकर्षण गराइसकेको छ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को व्यवस्था बमोजिम स्थानीय तहको कार्यकाल समाप्त हुनु अगावै निर्वाचन गर्न आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई गत कार्तिक ८ गते भेटेर परामर्श गरेका थिए। स्थानीय तहको आगामी निर्वाचनका सम्वबमा भएका संवैधानिक तथा कानुनी व्यवस्था बारेमा त्यतिबेलै जानकारी गराएको आयोगले स्मरण गरेको छ। त्यस्तै, दोश्रो पटक २०७८ पुस ९ गते पनि स्थानीय तहका निर्वाचित पदाधिकारीहरुको पदावधि सम्बन्धी व्यवस्थाको बारेमा जानकारी गराएको थियो।