२०८१ साउन १२ गते | 27th of July 2024

नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८०

खुल्लामन्च
 प्रकाशित: २०७८ माघ १२ गते १२:२४

काठमाडौं –    केन्द्रीय तथ्याङ्क विभागले बुधबार नेपालको जनगणना २०७८ को प्रारम्भिक नतीजा सार्वजनिक गरेको हो। सार्वजनिक नतिजा अनुसार  नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ।
यसअघि २०६८ सालमा गरिएको जनगणनामा नेपालको जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ थियो। विभागका अनुसार, यस पटक जनसङ‍्ख्या वृद्धिदर पनि घटेको छ। अहिले जनसङ‍्ख्या वृद्धिदर ०.९३ प्रतिशत रहेको छ। २०६८ साल जनगणनामा जनसङ‍्ख्या वृद्धिदर १.३५ प्रतिशत रहेको थियो।

यो जनगणना अनुसार नेपालको जनसङ‍्ख्या वृद्धिदर ८० वर्षयताकै कम हो। यसअघि १९९८ सालमा नेपालको जनसङ‍्ख्या वृद्धिदर १.२७ प्रतिशत थियो। अहिले पुरुषको सङ्ख्या एक करोड ४२ लाख ९१ हजार ३११ र महिलाको सङ्ख्या एक करोड ४९ लाख एक हजार १६९ रहेको विभागले जनाएको छ। अघिल्लो जनगणनाको तुलनामा भक्तपुरको जनसङ्ख्या वृद्धिदर सबैभन्दा बढी र रामेछापको जनसङ्ख्या सबैभन्दा घट्दो दरमा रहेको पाइएको छ। प्रदेशगत रूपमा मधेश प्रदेशको जनसङ्ख्या सबैभन्दा बढी छ भने कर्णाली प्रदेशको कम देखिएको छ।जनगणना २०७८ अन्तर्गत पहिलो चरणमा ३० भदौदेखि १८ असोजसम्म घरधुरी सर्वेक्षण भएको थियो। त्यसपछि दोस्रो चरणमा २५ कात्तिकदेखि ९ मंसीरसम्म जनगणना गरिएको थियो।