काठमाडौं – सुदूरपश्चिमको दार्चुला र भारतलाई जोड्न महाकाली नदीमाथि मोटरेबल पुल बन्ने भएको छ। मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ र काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्राले पुल निर्माणसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सचिव श्रेष्ठका अनुसार पुल बनाउने सबै जिम्मा भारतीय पक्षको हो। भारतले अनुदानमा पुल बनाइदिन लागेको हो। ‘हाम्रो तर्फबाट जग्गा उपलब्ध गराइदिने, रूख कटान गर्नुपर्ने भए त्यसको व्यवस्था गरिदिने, पुल निर्माणमा आउने भारतीय कामदार र सामानलाई सहज बनाउने कुरामात्रै छ,’ सचिव श्रेष्ठले भने,‘लगानीदेखि ठेक्कापट्टासम्मको काम सबै भारतीय पक्षले नै गर्छ।’
दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले महाकाली नगरपालिका-८ असिगडामा पुल बन्न लागेको जानकारी दिए। उक्त पुलले असिगडा र भारतको छारछुङलाई जोड्ने छ। ‘अहिले दार्चुला र धार्चुला जोड्ने झोलुंगे पुल छ। मोटरेबल पुल बन्न लागेको ठाउँ सदरमुकामदेखि ८-१० किलोमिटर टाढा छ,’ प्रजिअ उपाध्यायले भने,‘धेरै ठाउँ हेरेपछि त्यहाँ पुल बनाउने निधो भएको हो।’ पुल निर्माण कहिलेदेखि सुरू हुन्छ भन्नेबारे यही साता भारतको पिथौरागढका अधिकारीहरूसँग हुने वार्तामा कुरा हुने उपाध्यायले बताए। काठमाडौंस्थित भारतीय दूतावासले पुल निर्माणको काम चाँडै सुरू हुने बताएको छ।