२०८१ वैशाख १६ गते | 28th of April 2024

प्रधानमन्त्री देउवाले नेपाल र प्रचण्ड सँग मागे एमसिसीमा सुधार गर्नूपर्ने बुदाँ

खुल्लामन्च
 प्रकाशित: २०७८ माघ १९ गते १२:५०

काठमाडौं – प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसिसीमा सुधार गर्नुपर्ने बुँदा छन् भने उपलब्ध गराउन सत्तारूढ दुई दलका अध्यक्षहरूलाई आग्रह गरेका छन्। आज बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग एमसिसी सम्झौतामा सुधार गर्नुपर्ने केही छन् भने त्यो उपलब्ध गराउन भनेका हुन्। प्रधानमन्त्री देउवासँग भएको छलफलमा प्रचण्ड र अध्यक्ष नेपालले यथास्थितिमै एमसिसी पारित गरेर जान नसकिने बताएका थिए। त्यसपछि प्रधानमन्त्री देउवाले एमसिसीमा सुधार गर्नुपर्ने केही छन् भने त्यो उपलब्ध गराउन आग्रह गरेका हुन्। ‘एमसिसीमा कुन-कुन कुराहरू छन् सुधार गर्नुपर्ने भनेर प्रधानमन्त्रीले सोध्नुभयो। सुधार गर्नुपर्ने कुरा उपलब्ध गराउन हामीलाई भन्नुभएको छ,’ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले सिन्धुपाल्चोकका नेता/कार्यकर्ता पार्टीमा प्रवेश गराउने कार्यक्रममा आज भने, ‘एमसिसीका सन्दर्भमा आज बालुवाटारमा छलफल गरिएको थियो।’

उनले पाँचदलीय गठबन्धन नटुट्ने पनि बताए। ‘पाँचदलीय गठबन्धन टुट्ने भयो कि क्या हो भन्ने अनावश्यक भ्रम र आशंका छन्,’ उनले भने, ‘गठबन्धन टुट्दैन।’ आफूले आज बिहान प्रचण्डसँग पनि कुराकानी गरेको नेपालले बताए। साथै कोटेश्वरस्थित निवासमा गृहमन्त्री बालकृष्ण खाणसँग पनि आज कुराकानी भएको उनको भनाइ थियो।

एमसिसी हुबहु पास गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भन्ने गरेको आरोपसमेत अध्यक्ष नेपालले लगाएका थिए। ‘एमसिसी हुबहु पास गर्नुस् हामी साथ दिन्छौं भनेर केपीले भन्दा रहेछन्,’ उनले भने, ‘हामी गलत तरिका अपनाउँदैनौं।

सेतोपाटी