२०८१ वैशाख १६ गते | 28th of April 2024

एमसीसी संसद्‌बाटै टुंग्याउनुपर्छ : कांग्रेस प्रवक्ता महत

खुल्लामन्च
 प्रकाशित: २०७८ माघ २७ गते १३:१३

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता प्रकाशसरण महतले अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)सँगको सम्झौता संसद्‌मा टेबुल भएमा बहुमतले पारित हुने दाबी गरेका छन्। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठकपछि बिहीबार सञ्चारकर्मीसँगको कुराकानीमा महतले एमसीसीलाई धेरै नलम्ब्याइ संसद्‌बाटै टुंग्याउनुपर्ने पनि बताए।

‘यो विषयलाई धेरै लम्ब्याउनु उपयुक्त हुन्न। संसद्‌बाट नै टुंग्याउनु उपयुक्त हुन्छ,’ महतले भने, ‘प्रवेश पनि नगराउने अनि यसमा के छ भनेर भ्रमको खेती गराउने काम भएको छ। प्रवेश भयो भने ठूलो बहुमतका साथ पारित हुन्छ।’सत्ता गठबन्धनमा रहेका दलका भातृ संस्थाले विरोध गरिरहेका छन् नी? भन्ने पत्रकारहरुको प्रश्नमा उनले भने,‘कसले के गर्‍यो भन्ने भन्दा पनि प्रचण्डजीको पत्र सार्वजनिक भएको नै छ। उहाँले पनि प्रतिबद्धता जनाउनु भएको नै छ। माधव नेपालले पनि यो हुनुहुँदैन भन्नुभएको छैन। समग्रतामा पार्टीको दृष्टिकोण के हो भन्ने हो।’ उनले आजको (केन्द्र कार्यसम्पादन समितिको) बैठकमा एमसीसीको प्रक्रिया अघि बढाउन अरु दलहरुबीच सहमति जुटाउन लाग्ने भन्ने विषयमा नै सबैको धारणा रहेको बताए।