२०८१ वैशाख २१ गते | 3rd of May 2024

एमसीसी सम्झौता सदनमा टेबल गर्ने सभामुखको संकेत

खुल्लामन्च
 प्रकाशित: २०७८ फागुन २ गते १३:२३

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहायता परियोजना, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता सदनमा टेबल गर्ने संकेत गरेका छन्। उनले आफू अम्पायरको भूमिका निर्वाह गर्न तयार रहेको बताए। साथै, उनले स्वतन्त्र रुपमा संसद् सञ्चालन गर्नका लागि सबै पार्टीसँग पहल गर्न तयार रहेको समेत बताएका छन्।   संसद्को जारी अवरोध, एमसीसी सम्झौता र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग लगायतका विषयमा सोमबार छलफल गर्न आफूले डाकेको ‘सर्वदलीय बैठक’ पछि बोल्दै उनले आफ्नो भूमिकालाई निर्वाह गर्न तयार रहेको बताएका हुन्।

प्रमुख प्रतिपक्ष नेकपा एमालेले असोज ३ गतेदेखि जारी अवरोध कायमै राखेको छ। जसका कारण सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकमा एमाले सहभागी भएन। एमाले उपस्थित नभएपनि आफू छलफलको पहललाई निरन्तर राख्न तयार रहेको सभामुख सापकोटाले बताए।  राष्ट्रिय महत्त्वका विषयमा आमसहमति बनाउन सबैले पहल गर्नुपर्ने भन्दै उनले एमसीसीको विषयमा पनि दलहरुका बीचमा सहमति आवश्यक हुने बताए।  बैठकपछि पत्रकारसँग कुरा गर्दै सभामुख सापकोटाले सर्वदलीय बैठकमा सबले आ–आफ्ना धारणा राखेको र त्यहाँबाट आएको सुझावलाई आफूले गम्भीरतापूर्वक लिएको बताए।

‘मैले सबको कुरा गम्भीरतापूर्वक लिएको छु’, सभामुख सापकोटाले भने, ‘मैले स्वतन्त्र रुपमा निर्णय गर्दै संसद् सञ्चालन हुनुपर्छ भन्ने महसुस गरेको छु। मैले अम्पाएरको भूमिका निर्वाह गर्ने कुरामा र यहाँ आएको सुझावलाई मैले सकारात्मक रुमपा लिएको छु।’ उनले बैठकमा एमसीसीका विषयमा पनि छलफल भएको बताए। उनले आफूले संसद् सञ्चालन हुनुपर्ने कुरालाई विशेष रुपमा जोड दिएको बताए।