२०८२ पुष १ गते | 16th of December 2025

युक्रेनमाथि रुसको सैन्य हमला पछि जनजीवन सन्त्रास र असामान्य

खुल्लामन्च
 प्रकाशित: २०७८ फागुन १३ गते ११:१९

काठमाडौं –  रुसले छिमेकी देश युक्रेनमाथि सैन्य हमला गरेपछि सो क्षेत्रको जनजीवन सन्त्रास र असामान्य बनेको छ । आक्रमणमा परेर मारिने डरका कारण युक्रेनी जनता सुरक्षित क्षेत्रमा जान थालेका छन् । युद्ध चर्किदै गएसँगै युक्रेनमा रात्रिकालीन कर्फ्यु लागु गरिएको छ। युक्रेनका विभिन्न भागमा रुसी सेना तीव्र गतिमा अघि बढिरहेका विवरण प्राप्त भएका छन्। त्यहाँ गोलाबारी, विस्फोट अनि हवाई हमला भएको छ। एउटा हवाई अखडामा रुस र युक्रेनी सेनाबीच भिडन्त भएको बताइएको छ।

 

                     रुसी सेनाले नियन्त्रणमा लिएको भनिएको उक्त हवाई अखडा पुन: आफ्नो नियन्त्रणमा लिएको युक्रेनले दाबी गरेको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफूहरूले लड्न जारी राख्ने बताएका छन्। उनका अनुसार हालसम्म सेना र सर्वसाधारण गरी १३७ युक्रेनी नागरिकले ज्यान गुमाएका छन्। युद्ध चर्कँदै गएसँगै युक्रेनले आमरूपमा सेना परिचालन गर्ने घोषणा गरेको छ। देशवासीलाई राष्ट्रको रक्षा गर्न आग्रह गरिएको छ। यसैबीच, पश्चिमा राष्ट्रहरूले रुसमाथि थप आर्थिक प्रतिबन्धहरूको घोषणा गरेका छन्। रुसका ब्याङ्क अनि उच्च अधिकारीहरूमाथि प्रतिबन्ध लगाइने उनीहरूले बताएका छन्।

तर उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोका सदस्य राष्ट्रहरूले युक्रेनमा सेना भने नपठाउने बताएका छन्। अर्को प्रसङ्मा अमेरिकाले युरोपमा सात हजार थप सेना पठाउने भएको छ। जर्मनीमा पठाउन लागिएको अमेरिकी सैन्य बलले युरोपस्थित नेटोका सदस्य राष्ट्रहरूलाई प्रत्याभूति दिलाउने अमेरिकी भनाइ छ। संयुक्त राष्ट्रसङ्घले एक लाखभन्दा बढी मानिसले युक्रेन छोडिसकेको अनुमान गरेको छ।