२०८१ वैशाख २२ गते | 4th of May 2024

एमसिसी सम्बन्धी सम्झौता बहुमतले  अनुमोदन

खुल्लामन्च
 प्रकाशित: २०७८ फागुन १५ गते १५:२६

काठमाडौं   –     प्रतिनिधि सभाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्बन्धी सम्झौता बहुमतले  अनुमोदन गरेको छ। आइतबार साँझ बसेको प्रतिनिधि सभाको बैठकले बहुमतबाट एमसिसी सम्झौता पारित गरेको हो। एमसिसीसँगै संसदले यसको १२ बुँदे व्याख्यात्मक घोषणा  पनि पारित गरेको छ।

पछिल्लो समय नेपाली राजनीतिको ‘हटकेक’ बनेको एमसिसी लामो विवाद र बहसपछि सम्झौता भएको चार वर्षपछि पारित भएको हो। सम्झौताका पारित गर्न संसदमा ध्वनि मत प्रयोग गरिएको थियो। प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने एमसिसी अनुमोदन प्रक्रियामा सहभागिता जनाएन। एमसिसी पारित हुँदा एमाले सांसदहरू वेल घेरेर नाराबाजी गरिरहेका थिए। अरू सांसदले वेल घेरेर नाराबाजी गरिरहँदा एमाले सांसद भीम रावल भने छलफल प्रक्रियामा सहभागी भएका थिए। उनले रोष्ट्रममै गएर आफ्ना धारणा राखेका थिए। रावलले एमसिसी पारित गर्नु नहुने बताएका थिए।   संसदबाट अनुमोदन भएसँगै ५० करोड अमेरिकी डलरको अनुदान कार्यक्रम कार्यान्वयमा आउनेछ। एमसिसीबाट आएको पैसा नेपालका सडकको स्तरोन्नति र विद्युत प्रसारण लाइन बनाउन प्रयोग हुनेछ।