२०८२ पुष २७ गते | 11th of January 2026

रूसी सैनिकले गरे पूर्वी युक्रेनको एउटा क्षेत्रीय राजधानी कब्जामा

खुल्लामन्च
 प्रकाशित: २०७८ फागुन १९ गते १२:४०

काठमाडौं –   रूसले छिमेकी युक्रेनमा आक्रमण गरेको  आठौं दिनमा  रूसी सैनिकहरूले पूर्वी युक्रेनको एउटा क्षेत्रीय राजधानी कब्जामा लिएका छन्। युक्रेनको राजधानी किएभ कब्जा गर्ने उनीहरूको प्रयास जारी छ। नागरिकस्तरबाट रूसी आक्रमणको प्रतिरोध भइरहेकाले किएभको बाहिर पुगेको तीन दिन भइसक्दा पनि रूसी सैनिकले सहर कब्जा गर्न सकेका छैनन्।

रूसले अहिलेसम्म नागरिकलाई लक्षित गरी आक्रमण नगरेको बताएको छ तर रूसी आक्रमणमा आमयुक्रेनीले पनि ज्यान गुमाएका छन्। संयुक्त राष्ट्रसंघका अनुसार बुधबारसम्म  २२७ युक्रेनी नागरिकको मृत्यु भएको छ भने ५२५ जना घाइते भएका छन्। यसमा केही बालबालिका पनि परेका छन्।  यो अनुमानित आँकडा हो। यसअघि युक्रेनी सरकारले २ हजारभन्दा बढी नागरिकको मृत्यु भएको हुन सक्ने बताएको छ। युद्धका बेला ज्यान गुमाउनेको संख्या एकीन गर्न निकै गाह्रो हुन्छ। युद्धरत पक्षले आफूलाई फाइदा पुग्नेगरी क्षतिको विवरण भन्ने भएकाले स्वतन्त्र पुष्टी गर्न कठिन हुने हो। सैनिकतर्फको क्षतिमा पनि युक्रेन र रूसले फरक-फरक आँकडा सार्वजनिक गरेका छन्। युक्रेनले अहिलेसम्म ७ हजार रूसी सैनिक मारिएको दाबी गरेको छ।

बुधबार पहिलो पटक युक्रेन युद्धमा ज्यान गुमाउनेको संख्या सार्वजनिक गर्दै रूसले आफ्ना ४९८ सैनिक मारिएको र १५९७ भन्दा बढी घाइते भएको जनाएको छ। युक्रेनतर्फ २८७० सैनिक मारिएको, ३७०० घाइते भएको र ५७२ लाई रूसी सेनाले नियन्त्रणमा लिएको मस्कोको दाबी छ। रूसी सैनिकको मृत्युबारे मस्कोकै दाबीलाई सत्य मान्ने हो भने पनि दुई दशकमा यो रूसी सेनाले भोगेको ठूलो क्षति हो। द न्युयोर्क टाइम्सका अनुसार सन् १९९९ को चेचन्या युद्धपछि एकै सैनिक अप्रेशनमा यति धेरै रूसी सैनिक मारिएका थिएनन्।