२०८१ साउन १२ गते | 27th of July 2024

स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगलाई अर्थले दियो ८ अर्ब ११ करोड बजेटको सुनिश्चितता

खुल्लामन्च
 प्रकाशित: २०७८ फागुन १९ गते १२:४८

काठमाडौं–आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगलाई ८ अर्ब ११ करोड बजेटको सुनिश्चितता भएको छ।  निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन सञ्चालन एवम् व्यवस्थापनका लागि आयोगलाई अर्थ मन्त्रालयबाट ८ अर्ब ११ करोड बजेटको सुनिश्चितता प्राप्त भएको हो।

आयोगका प्रवक्ता एवम् सहसचिव शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता भएका ८० वटा राजनीतिक दलहरुको निवेदनका विषयमा आयोगले आवश्यक जाँचबुझ गरिरहेको छ। निर्वाचनमा भाग लिने राजनीतिक दलहरुको नाम फागुन २६ गतेभित्रमा प्रकाशन गरिने जनाइएको छ। आयोगले स्थानीय तह निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुको नामावली सम्बन्धित निकायबाट प्राप्त भएको र ती नामावलीहरु हाल अध्ययनको क्रममा रहेको समेत उल्लेख गरेको छ। त्यस्तै, फागुन २० देखि २६ गतेसम्म मतदाता नामावली अद्यावधिक कार्यक्रम अन्तर्गत नामावलीमा भएको त्रुटि सच्चाउन, विरोधमा उजुरी दिन लगायतको समय तोकिएको छ।  ‘मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुटृा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिने, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनका लागि सूचना दिने, उजुरी परेको मतदातालाई प्रमाणसहित सफाइको मौका दिने जस्ता क्रियाकलापहरु सञ्चालन हुनेछन्,’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ।