२०८१ साउन १२ गते | 27th of July 2024

नेपाल मानवीयताले युक्रेनको पक्षमा

खुल्लामन्च
 प्रकाशित: २०७८ फागुन २३ गते १३:३२

काठमाडौं –  परराष्ट्रमन्त्री नारायण खड्काले आफ्नो साँढे पाँच महिनाको कार्य अवधिको समीक्षा गर्नुहुँदै  यस अवधिमा संयुक्त राष्ट्रसङ्घमा नेपालको उपस्थिति बलियो हुँदै गएको बताउनुभयो । मन्त्रालयमा आयोजित  प्रेस ब्रिफिङमा  परराष्ट्र मन्त्री डा. खड्काले अफगानिस्तानको मानवीय सङ्कटमा सहयोग पुर्‍याउनका लागि नेपालले सक्रियता देखाएको र त्यसले मानवीय सेवामा ठूलो सन्देश गएको बताउनुभयो । अफगानिस्तानको मानवीय सङ्कटका बेला नेपालले आफ्नो सरकारी विमानबाट स्थलगत रूपमै पुगेर राहत सामाग्री हस्तान्तरण गरेको थियो ।

मन्त्री खड्काले बेलायतमा भूतपूर्व गोर्खा सैनिकको मुद्दा उठान भएको, हराएका पुरातात्त्विक सामग्री फिर्ता ल्याइएको र ई पासपोर्ट वितरण आफ्नो कार्यकालको सफल काम भएको पनि पत्रकार सम्मेलनमा उल्लेख गर्नुभयो । परराष्ट्र मन्त्री डा. खड्काले रुसले आक्रमण गरेको युक्रेनको नेपालले पक्ष लिनु कुनै गुटमा नलागी मानवीयताको पक्षमा मात्र भएको बताउनुभयो । मन्त्री खड्काले असंलग्न परराष्ट्र नीतिअनुसार नै युक्रेनको पक्षमा नेपाल उभिएको स्पष्ट पनि पार्नुभयो । युक्रेनबाट ५३३ नेपाली छिमेकी मुलुकमा पुगिसकेको जानकारी दिनुभयो ।

प्रेस ब्रिफिङमा भारत सरकारको उद्धार टोलीलाई नेपाली नागरिकलाई पनि उद्धार गर्न आग्रह गरेको जानकारी दिनुहुँदै उहाँले सोही अनुसार सहयोग भएकोमा भारत सरकारलाई धन्यवाद दिनुभएको भयो ।  त्यस्तै, उहाँले राष्ट्रसङ्घको ११ औँ आपतकालीन बैठकमा नेपाल युक्रेनको पक्षमा मतदान गरेको पनि जानकारी दिनुभयो । मन्त्री खड्काका अनुसार असंलग्न परराष्ट्र नीति अनुसार नै युक्रेनको पक्षमा नेपाल उभिएको हो ।