२०८१ वैशाख १९ गते | 1st of May 2024

चीनले तीन सन्तान नीतिलाई प्रभावकारी कार्यान्वयन गर्ने

खुल्लामन्च
 प्रकाशित: २०७८ फागुन २३ गते १३:४०
      काठमाडौं  –    गत वर्ष सन् २०२१ मा ८.१ प्रतिशत आर्थिक वृद्धिदर गरेको चीनले चालु वर्ष ५.५ प्रतिशत वृद्धि गर्ने लक्ष्य राखेको छ। कोरोना महामारीपछि चलायमान बनेको चिनियाँ अर्थतन्त्रलाई गुणात्मक वृद्धि गराउनका लागि चालु वर्ष अर्थतन्त्र वृद्धिदरलाई खुम्च्याएको हो। चिनियाँ समयअनुसार, शनिबार बिहान ९ बजे बेइजिङको जनबृहत् सभाभवनमा सुरु भएको १३ औँ राष्ट्रिय जनकंग्रेसको पाँचौँ अधिवेशनमा चिनियाँ प्रधानमन्त्री ली खछ्याङले सरकारी कार्य प्रतिवेदन पेश गर्दै चालु वर्ष चीनको आर्थिक वृद्धिदर ५.५ हुने प्रक्षेपण गर्नु भएको हो। राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चानशुले प्रधानमन्त्री लीलाई कार्यप्रतिवेदन पेश गर्ने उद्घोष गर्नु भएपछि लगभग एक घण्टा लगाएर ली खछ्याङले प्रतिवेदन पढ्नु भएको नेपाल भ्युज अनलाइनले लेखेको छ।
चिनियाँ प्रधानमन्त्री ली खछ्याङले पेश गर्नु भएको प्रतिवेदन अनुसार सन् २०२१ मा चीनको कूल गार्हस्थ उत्पादन ११४० खर्ब युआन पुगेको छ। यो सन् २०२० को भन्दा ८.१ प्रतिशतले वृद्धि भएको हो। चीनको राष्ट्रिय वित्तीय राजश्व २०० खर्ब युआनभन्दा बढ़ी पुगेर अघिल्लो वर्षको तुलनामा १०.७ प्रतिशतले बढेको छ। त्यसैगरी गत वर्ष चीनले १ करोड २६ लाख ९० हजार व्यक्तिलाई नयाँ रोजगारी दिएको छ।  चीनमा बेरोजगारी दर औसत ५.१ प्रतिशत रहेको छ। चालु वर्ष चीनले १ करोड १० लाख व्यक्तिलाई नयाँ रोजगारी दिने लक्ष्य राखेको छ। यो वर्ष चीनमा ३ प्रतिशत मूल्य वृद्धि हुनेछ भने चिनियाँहरुको आय वृद्धि र आर्थिक वृद्धि आधारभूत समक्रमण हुने; आयात र निर्यातमा गुणात्मक सुधार हुने किटान पनि उक्त प्रतिवेदनमा गरिएको छ।
चीनले सुधार र खुलापनलाई कायम राख्दै विदेशी लगानीको सकारात्मक प्रयोग गर्ने क्रममा खुला तथा ठूलो चिनियाँ बजारबाट चीनमा विश्वका विभिन्न मुलुकका उद्यमहरूको लागि बढी मौका प्रदान गर्ने कुरालाई जोड दिएको छ। आर्थिक उदारीकरणलाई प्रभावकारी बनाउन र विदेशी लगानीकर्तालाई चीनमा आकर्षित गर्नका लागि चालु वर्ष चीनले कर वापतको २५ खर्ब चिनियाँ युआन (३ खर्ब ९५ अर्ब अमेरिकी डलर) फिर्ता गर्ने घोषणा गरेको छ। अमेरिकासँगको व्यापार युद्धपछि चीनले आर्थिक लगानीका क्षेत्रमा विभिन्न नकारात्मक सूचीलाई हटाउँदै आएको छ। उल्लिखित कर फिर्ता आर्थिक उदारीकरण तथा खुलापनको एउटा उदाहरण हो।
यसपटक सामाजिक सुरक्षाका कार्यक्रमलाई चीनले निकै महत्वका साथ उठाएको छ। चीनमा हुने गरेको महिला तथा बालबालिका बेचबिखन तथा अबैध ओसारपसारलाई कडाइका साथ नियन्त्रण गर्ने सरकारी प्रतिवेदनमा उल्लेख भएको छ। महिला तथा बालबालिका बेचबिखन चिनियाँ समाजको टट्कारो समस्या हो। त्यसैगरी महिलाका हक अधिकारलाई पनि प्रतिवेदनमा प्राथमिकताका साथ राखिएको छ।
तीन सन्तानको नीतिलाई अझै प्रभावकारी रुपमा कार्यान्वयन गर्ने बताइएको छ। चीनमा ६ वर्ष अगाडि दुई सन्तानको नीति ल्याइएको थियो। दम्पतीले आशातीत रुपमा दुई सन्तान नजन्माएपछि गत वर्षदेखि तीन सन्तानको नीति ल्याइएको हो। बिग्रँदै गएको जनसंख्या असन्तुलनलाई मिलाउन र भविष्यमा आउने संकटलाई समाधान गर्नका लागि चीनले तीन सन्तानको नीति ल्याएको हो। सरकारी प्रतिवेदनमा तीन सन्तानको नीति कार्यान्वयनलाई लिएर केही ठोस कुरा अगाडि सारिएको छ।
सुत्केरी महिलालाई बिदाको सुविधा थप गर्ने, परिवार संख्याका आधारमा रोजगारीमा प्राथमिकता दिने, बाल उद्यान पार्को व्यवस्था गर्ने, शिशु भएका परिवारलाई विभिन्न छुट र आर्थिक सुविधा दिने कार्यक्रमहरु निर्धारण गरिएको छ।
निकै चासोका साथ हेरिएको ताइवान विषयमा चीनले पुरानै अडान दोहोर्याएको छ। प्रतिवेदनमा भनिएको छ, “ताइवान स्वतन्त्रता’को पृथकवादी तत्वको कडा विरोध गरिने र बाह्य शक्तिको हस्तक्षेपको कडा विरोध गर्दै चीनले सशक्त प्रतिकार गर्नेछ।” ताइवानसम्बन्धी नीतिको पालना गरिने, नयाँ युगमा ताइवान कार्यको समाधान गर्ने रणनीतिको पालना गरिने र एक चीनको नीतिको पालना गरिने कुरा प्रतिवेदनमा उल्लेख छ।
चीनले चालु वर्ष सन् २०२२ का लागि रक्षा बजेटमा उल्लेख्य वृद्धि गरेको छ। आर्थिक वृद्धिदर ५.५ प्रतिशत हुँदा रक्षा बजेट भने ७.१ प्रतिशतले बढाइएको छ। गत वर्ष चीनको रक्षा बजेट ६.८ प्रतिशतले वृद्धि भएको थियो। गत वर्ष चीनको रक्षा बजेट १३ खर्ब ८० अर्ब चिनियाँ युआन थियो भने चालु वर्ष १४ खर्ब ५० अर्ब (२ खर्ब २९ अर्ब अमेरिकी डलर) पुगेको छ।
अहिले ७.१ प्रतिशतले रक्षा बजेट बढाए पनि सन् २०१९ मै ७.५ प्रतिशतले रक्षा बजेट वृद्धि गरेको थियो। पछिल्ला केही वर्षदेखि भारतीय सीमामा बढेको द्वन्द्व र ताइवान मामलामा अमेरिकासँग आमनेसामने हुन थालेपछि चीनले रक्षा बजेटमा वृद्धि गरेको मानिन्छ। अमेरिकाको रक्षा बजेट चीनको भन्दा तीन गुणा बढी छ।
शनिबार उद्घाटन भएको १३ औँ राष्ट्रिय जनकंग्रेसमा अन्तिम अधिवेशन हो। राष्ट्रिय जनंग्रेस चीनको सर्वोच्च विधायिकी अर्थात् सदन हो। यसको अधिवेशन हरेक वर्ष मार्च ५ तारिख सुरु भएको दुईदेखि तीन हप्तासम्म चल्ने गर्छ। आगामी वर्ष सन् २०२३ को मार्चमा १४ औँ जनकंग्रेसको पहिलो अधिवेशन हुनेछ।
१३ औँ राष्ट्रिय जनकंग्रेसमा २९५१ सदस्य रहेकामा शनिबार उद्घाटित पाँचौँ अधिवेशनमा २७९० जना सहभागी थिए।