लस एन्जलस । नेपालबाट वर्षौं अघि चोरी भएर अमेरिका पुर्याइएका ८ औँ र १० औँ शताब्दीका दुई मूर्ति नेपाल फिर्ता भएका छन् ।
बुंगमतीको मछिन्द्र बहालमा रहेको ८ औँ शताब्दीको बुद्धको ढुंगाले बनेको मूर्ति र पाटनको इटुम बहालमा रहेको ४२ इन्च अग्लो १० औं शताब्दीको नृत्यादेवीको काठको मूर्ति नेपाल फिर्ता आएका हुन् । दुवै मूर्ति नेपालको कुटनीतिक पहलमा फिर्ता भएको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ ।![](https://www.khullamanch.com/wp-content/uploads/2023/04/IMG_4521.jpeg)
दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै ती मूर्ति थुप्रै व्यक्ति हुँदै अन्तिममा संकलकर्तासम्म पुगेकाले फिर्ताका लागि सहज भएको जनाएको छ ।![](https://www.khullamanch.com/wp-content/uploads/2023/04/IMG_4524.jpeg)
नृत्यादेवी र बुद्धको दुवै मूर्ति सन् १९७० मा चोरी भएको उल्लेख गरिएको छ । ८ औँ शताब्दीको बुद्ध मूर्ति क्यालिफोर्नियाको हलिउड, बेभर्लीहिल निवासी हलिउड फिल्म निर्माता माइकल फिलिप्सले नेपाली महावाणिज्यदूत ऋषि ढकाललाई १८ दिन अघि अप्रिल १२ मा हस्तान्तरण गरेका थिए ।![](https://www.khullamanch.com/wp-content/uploads/2023/04/IMG_4523.jpeg)
दूतावासले निर्माता माइकल फिलिप्सलाई मूर्ति फिर्ता गरेकोमा धन्यवाद ज्ञापन गरेको छ । त्यसैगरी मूर्ति फिर्ताको लागि पहल गरेकोमा महावाणिज्यदूत् ढकाललाई पनि नेपाली दूतावासले धन्यवाद दिएको छ ।![](https://www.khullamanch.com/wp-content/uploads/2023/04/IMG_4522.jpeg)
यी दुई मूर्तिका साथै दूतावासले एक वर्षको अवधिमा सातवटा कलाकृति नेपाल पठाउन सफल भएको जनाएको छ ।