२०८१ वैशाख १८ गते | 30th of April 2024

महावाणिज्यदुत ऋषी ढकालको पदावधी चार बर्षका लागि थप

खुल्लामन्च
 प्रकाशित: २०८० चैत २८ गते ६:३०

लस एन्जलस – क्यालिफोर्नियाको सान डिएगो क्षेत्रका लागि नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत ॠषी पुन्नाखर ढकालको पदावधि ४ बर्ष थप गरिएको छ । नेपाल सरकारको मन्त्रिपरिषदको बैठकको निर्णयलाई ढकालको पदावधि ४ बर्षको लागि थप गर्ने निर्णय गरेको हो ।अब ढकालको पदावधि सन् २०२८ सम्म कायम रहनेछ । नेपाल सरकारले पहिलोपटक सन् २०१३ मा अवैतनिक वाणिज्यदूत नियुक्त गरेको थियो । २०१५ मा अवैतनिक महावाणिज्यदूतमा बढुवा भएका ढकाललाई नेपाल सरकारले त्यसपछी निरन्तरता दिएको छ।

महावाणिज्यदूत ढकाल तैयारी पोशाक र हस्तकलाका बस्तु नेपालबाट अमेरिका आयातगर्ने एक अग्रणी व्यवसायीका रूपमा स्थापित हुनुहुन्छ । संयुक्त राज्य अमेरिकाको पश्चिम तटीय राज्य क्यालिफोर्नियालाई आधार क्षेत्र मानेर आफ्नो व्यापार प्रवर्धनका साथै नेपाल र नेपालीपनको जगेर्ना गर्नमा ढकाल सकृय रहदै आउनुभएको छ । एकपटकको नेपाली, संधैको नेपाली अभियान अन्तर्गत दोहोरो नागरिकताको प्रावधानका लागि एनआरएन आइसीसीको समितिमा रहेर नेपालको संविधानमा गैर आवासीय नेपाली नागरिकताको प्रावधान राख्न पहल गर्ने एक अभियन्ताको रुपमा पनि ढकालको परिचय स्थापित छ ।

२००५ मा अमेरिका आउनु भएका ऋषिको राइजिङ इन्टरनेशनल इन्क सन् २०१३ सम्म नेपालबाट तेस्रो मुलुकमा निर्यात हुने वस्तुको अग्रणी आयातकर्ता भईसकेको थियो । सन् २०१४ मा नेपाल सरकारकातर्फबाट महत्वपूर्ण व्यवसायिक व्यक्तित्वका लागि दिइने सम्मान तत्कालीन राष्ट्रपति रामवरण यादवबाट ढकाललाई प्रदान गरिएको थियो । अहिले उहाँले थाइल्याण्ड, चीन र भारतबाट समेत सामानहरू आयात गर्न थाल्नुभएको छ भने रेष्टुरेण्ट, रियलस्टेट जस्ता व्यवसायमा समेत लगानी गर्नुभएको छ । ढकाल परिवारको क्यालिफोर्नियामा केही व्यापारिक प्रपर्टीहरुमा लगानी छ ।

ढकालले नेपालका बिभिन्न क्षेत्रमा लगानी गर्नुभएको छ । एनआरएनको हैसियतमा उहाँको कमाइको केही हिस्सा नेपालमा पनि लगानी भएको छ । हाइड्रो पावर, नेपाल क्यान्सर अस्पताल र तक्षशिला एकेडेमीमा ढकाल परिवारको लगानी छ । ढकाल परिवार सामाजिक कार्यमा पनि त्यतिकै सकृय छ । लसएन्जलसमा रहेको पशुपति फाउण्डेसनको स्थापनाको लागि महापुराण लगाएर झन्डै ११ लाख डलर सङ्कलन गर्ने कार्यको संयोजन गरेका ढकाल परिवारले फाउण्डेसनलाई ७५ हजार डलर आर्थिक सहयोग समेत गरेको थियो ।