२०८१ वैशाख २१ गते | 3rd of May 2024

गोरखा वीरेन्द्रतालमा हिउं पहिरोले बुढीगन्डकीमा बाढी, वरपरका वस्तीलाई सचेत रहन आग्रह

खुल्लामन्च
 प्रकाशित: २०८१ वैशाख ९ गते ५:२३

गोरखा  – माथीबाट झरेको हिउँ पहिरोले चुमनुब्री गाउँपालिका १ स्थित वीरेन्द्रताल फुट्दा बूढीगण्डकीमा पानीको बहाव उच्च भएको छ । बिहान पौने नौ बजे तालमा ठूलो हिउँ पहिरो झरेको वडा सदस्य धेजेन डोमाले जानकारी दिइन् ।

‘तालमाथिबाट ठूलो हिउँ पहिरो झर्यो’, उनले भनिन्, ‘तालबाट गण्डकी जत्रै बाढी गएर बूढीगण्डकीमा मिसिएको छ । गण्डकी दोब्बर भएर बढेको छ ।’ पर्यटकीय सिजन भएकाले मनास्लु बेसक्याम्प, वीरेन्द्र ताल अवलोकन गर्न बिहान पर्यटक त्यसतर्फ गएको हुन सक्ने आशंका गरिएको उनले बताइन् ।

हिमपहिरोले सामागाउँबाट साम्दो जाने बाटोको काठे पुल बगाएको प्रहरीले जनाएको छ । ‘बूढीगण्डकीमा पानीको बहाब उच्च भएको छ । हामीले बूढीगण्डकी छेउ किनारका बासिन्दालाई सतर्क रहन जगत, माछाखोला लगायत विभिन्न ठाउँका चौकीहरुमा सूचना गरेका छौँ ।’वीरेन्द्र तालमा हिउँ पहिरो त प्राय गइरहने तर अहिले ठूलो हिमपहिरो गएको वडाअध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिए, गोरखाबाट प्रकाशित हुने दरौंदीले जनाएको छ ।