लस एन्जलस – डोनाल्ड ट्रम्पले आज अमेरिकाको ४७औँ राष्ट्रपतिका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन्। शपथ ग्रहण समारोह वाशिङ्टन डीसीस्थित क्यापिटल भवनमा सम्पन्न भएको हो। ट्रम्पले आफ्नो उद्घाटन भाषणमा राष्ट्रिय एकता र आर्थिक पुनरुत्थानको प्रतिज्ञा गरेका छन्। उनले आप्रवासन नीतिमा कडाइ गर्ने र अन्तर्राष्ट्रिय व्यापार सम्झौताहरू पुनरावलोकन गर्ने योजना पनि प्रस्तुत गरेका छन्। शपथ ग्रहण समारोहमा पूर्व राष्ट्रपतिहरू र अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। शपथ ग्रहण समारोहमा पूर्व राष्ट्रपतिहरू बाराक ओबामा, जर्ज डब्ल्यू. बुस, बिल क्लिन्टन, र वर्तमान राष्ट्रपति जो बाइडेन आफ्ना जीवनसाथीसहित उपस्थित थिए।
शपथ ग्रहण समारोह वासिङ्टन डिसीस्थित संसद् भवन (यूएस क्यापिटल) मा सम्पन्न भएको हो। ट्रम्पले आफ्नो दोस्रो कार्यकालको सुरुवात गर्दैछन । यसअघि उनी सन् २०१७ देखि २०२१ सम्म अमेरिकाको ४५औँ राष्ट्रपति थिए। समारोहमा गायिका क्यारी अन्डरवुडले ‘अमेरिका द ब्युटिफुल’ गीत प्रस्तुत गरिन् भने ‘भिलेज पिपल’ का गायक भिक्टर विलिसले पनि प्रस्तुति दिए। राष्ट्रपति ट्रम्पले आफ्नो पहिलो दिनमै करिब १०० वटा कार्यकारी आदेशमा हस्ताक्षर गर्ने योजना बनाएका छन्।

यी आदेशहरूमा जनवरी ६, २०२१ मा क्यापिटल हिलमा आक्रमण गर्ने सबैलाई आममाफी दिने, अवैधानिक रूपमा अमेरिकामा बसोबास गरिरहेका आप्रवासीहरूको देशनिकाला, दक्षिणी सीमामा पर्खालको निर्माण, खनिज पदार्थको उत्खनन, क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५% कर, र चिनियाँ सामानमा ३५% सम्म कर लगाउने निर्णयहरू समावेश छन्।
ट्रम्पको पुनरागमनलाई विश्वभरबाट चासोका साथ हेरिएको छ भने अमेरिकामा वर्षौँदेखि गैरकानुनी रूपमा बसोबास गरिरहेका आप्रवासीहरूमा चिन्ता बढेको छ। उनको प्रशासनले आप्रवासन नीतिमा कडा कदम चाल्ने संकेत दिएको छ, जसले लाखौँ आप्रवासीहरूको भविष्यमा प्रभाव पार्न सक्छ ।
