२०८१ चैत ११ गते | 25th of March 2025

ॐ नम: शिवाय, महाशिवरात्री : बुधवार श्रीपशुपतिनाथ बुद्द मन्दिरमा भव्य आयोजना

खुल्लामन्च
 प्रकाशित: २०८१ फागुन ८ गते १८:४६

लस एन्जलस – आगामी बुधवार हिन्दू धर्मावलम्बीहरूको महान पर्व महाशिवरात्रिको अवसरमा लस एन्जलसस्थित श्रीपशुपतिनाथ तथा बुद्ध मन्दिरमा विशेष धार्मिक कार्यक्रमको आयोजना गरिंदैछ। भक्तजनहरूको ठूलो संख्यामा सहभागिता रहने अपेक्षा गरिएको यो पर्व भगवान शिवको आराधना तथा भक्ति प्रदर्शन गर्ने महत्त्वपूर्ण दिन मानिन्छ।

के हो महाशिवरात्रि ?

महाशिवरात्रि हिन्दू धर्मको एक प्रमुख पर्व हो, जुन भगवान् शिवको आराधनाका लागि विशेष रूपमा समर्पित हुन्छ। यो पर्व फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइन्छ। धार्मिक मान्यताअनुसार, यस रात भगवान् शिव र माता पार्वतीको विवाह सम्पन्न भएको थियो। साथै, यो दिन शिवलिंगको उत्पत्तिसँग पनि जोडिएको मानिन्छ। शिवभक्तहरू व्रत बस्ने, विशेष पूजा गर्ने तथा रातभर जागरण गरी भगवान् शिवको भजन-कीर्तनमा संलग्न हुने गर्छन्।

विशेष पूजा र अभिषेक कार्यक्रम :

महाशिवरात्रिको दिन बिहानैदेखि भक्तजनहरूले श्रीपशुपतिनाथ मन्दिरमा पूजाअर्चना गर्ने क्रम शुरु हुनेछ। विशेष गरी शिवलिंग अभिषेक, रुद्राभिषेक तथा विशेष आरती आयोजना गरिनेछ। धार्मिक परम्पराअनुसार, दूध, जल, घिऊ, मह, दही तथा फुलप्रसाद तथा अन्य पवित्र सामग्रीहरूको प्रयोग गरेर भगवान् शिवको अभिषेक गरिन्छ। स्थानीय कलाकारहरूले महादेवसम्बन्धी गीत, नृत्य तथा नाटक प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ।

भक्तजनका लागि सेवा तथा व्यवस्थापन :

भक्तजनहरूको सुविधाका लागि प्रसाद वितरण, नि:शुल्क जलसेवा तथा विश्रामस्थलको व्यवस्था गरिएको छ। लस एन्जलसस्थित श्रीपशुपतिनाथ मन्दिर मात्र नभई बुद्ध मन्दिरमा पनि विशेष पूजापाठको आयोजना गरिंदैछ। धार्मिक सहिष्णुता र एकताको सन्देश प्रवाह गर्दै बुद्ध धर्मावलम्बीहरू पनि यो अवसरमा सामेल हुने अपेक्षा गरिएको छ।

महाशिवरात्रि हिन्दू धर्मावलम्बीहरूका लागि मात्र नभई सम्पूर्ण समाजका लागि शान्ति, समर्पण तथा आत्मशुद्धिको पर्व हो। यस दिन भगवान् शिवको आराधना गरेमा मनोकामना पूर्ण हुने धार्मिक विश्वास रहेको छ। भक्तजनहरूले यस अवसरमा मठ-मन्दिरहरूमा भक्ति अर्पण गर्दै आध्यात्मिक चेतनाको अनुभव गर्नेछन्।

भगवान् शिवको कृपा सम्पूर्ण भक्तजनहरूमा रहोस् !

ॐ नम: शिवाय

!