लस एन्जलस – हिजो मार्च २३, २०२५ मा आयोजित स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। श्रीपशुपतिनाथ तथा बुद्ध फाउन्डेशनमा आयोजित स्वास्थ्य शिविरमा २०० जना बिरामीहरूले स्वास्थ्य जाँच र स्वास्थ्य शिक्षामा सहभागिता जनाए। समाजका व्यक्तिहरूलाई आवश्यक स्वास्थ्य सेवा, परामर्श, र स्रोतहरू प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यस मेलाले नेपाली समुदायका धेरैजसो व्यक्तिहरूलाई प्रत्यक्ष रूपमा लाभान्वित गर्यो। विशेष गरी, स्वास्थ्य बीमा नभएका, अंग्रेजी भाषा बोल्न नसक्ने, तथा प्राथमिक स्वास्थ्य सेवा प्रदायकको अभावमा रहेका नेपाली समुदायका सदस्यहरूलाई लक्षित गर्दै उनीहरूलाई आवश्यक स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराइएको थियो। यस पहलका कारण उनीहरू आफ्नो नयाँ समुदायमा सुरक्षित र आत्मविश्वासी महसुस गर्न सक्षम भए।
शिविरमा ४ जना मेडिकल विद्यार्थी, ५ जना मेडिकल डाक्टर, २ जना डेन्टिस्ट, ३ जना भौतिक तथा व्यवसायिक चिकित्सक, ५ जना नर्स प्राक्टिसनर, तथा धेरैजना RN र LVN नर्सहरूको टोलीले बिरामीहरूको जाँच तथा स्वास्थ्य शिक्षा प्रदान गरे। साथै, स्थानीय प्राथमिक विद्यालय, उच्च माध्यमिक विद्यालय तथा कलेजहरूका स्वयंसेवकहरूले पनि मेलामा सक्रिय भूमिका निर्वाह गरे।
यस शिविरमा मधुमेह, उच्च रक्तचाप, दम, ढाड, जोर्नी तथा घाँटीको दुखाइ, निन्द्रा समस्या, वृद्ध आमाबुबामा देखिने चिन्ता तथा डिप्रेसन, तथा दीर्घकालीन कब्जियत जस्ता स्वास्थ्य समस्याहरूको उपचार र जानकारी प्रदान गरियो। अन्य सेवाहरूमा आँखा परीक्षण, SAAHAS for Cause द्वारा प्रस्तुत नाटक/प्रदर्शन, तथा काइजर परमानेन्टेका डा. जान ली द्वारा प्रस्तुत “दुखाइ व्यवस्थापन” सम्बन्धी जानकारीमूलक प्रस्तुति समावेश थिए।
स्वास्थ्य शिविरको आयोजना सोसाइटी अफ अमेरिकन नेपालीज नर्स (Southern California Chapter) तथा श्री पशुपतिनाथ बुद्ध मन्दिरको सहकार्यमा गरिएको थियो। मेलामा डा. नितिन शाह, डा. दृष्टि आङदेम्बे, तथा NRNA NCC USA को विशेष समन्वय रहेको थियो। यसैगरी, अनाकान्त कम्युनिटी सेन्टर, अपरिग्रह फाउण्डेशन, ABC स्कूल तथा SAAHAS for Cause को विशेष प्रायोजन रहेको थियो।
मेलालाई सफल बनाउन सहयोग पुर्याउने विभिन्न संघसंस्थाहरू तथा व्यक्तिहरूलाई विशेष धन्यवाद दिइएको छ। विशेष गरी, श्री पशुपतिनाथ बुद्ध मन्दिर, NWGN, नेवा समाज, एकता समाज तथा स्थानीय संघसंस्थाहरू, श्याम जोशी, सुमन ढकाल, र केशव पराजुलीलाई योजना, फ्लायर डिजाइन, कोष संकलन तथा भोजन व्यवस्थापनमा गरेको उल्लेखनीय योगदानका लागि आभार व्यक्त गरिएको छ। स्वास्थ्य मेला सफल बनाउन योगदान पुर्याउनु भएका सम्पूर्ण सहयोगी हातहरूलाई SANN SoCal Chapter को तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।