लस एन्जलस – गैरआवासीय नेपालीहरूका लागि वंशजको नागरिकताको निरन्तरता सुनिश्चित गर्ने उद्देश्यले सञ्चालनमा आएको ‘नागरिकता खोइ अभियान’ले अमेरिकाको नेपाली समुदायमा उल्लेखनीय प्रभाव पार्दै गएको छ। हालै टेक्सास र क्यालिफोर्नियामा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपालीहरूको उल्लेखनीय चासो र सहभागिता देखिएको छ। टेक्सासको डालस र ह्युस्टन तथा क्यालिफोर्नियाको सानफ्रानसिस्को र लस एन्जलसमा सम्पन्न यी कार्यक्रमहरूमा देखिएको जनउत्साह, सद्भाव, र सकारात्मक प्रतिक्रियाले अभियानलाई थप उर्जा प्रदान गरेको संयोजक वासुदेव घिमिरेले जानकारी गराए।
लस एन्जलसको पशुपति बुद्ध मन्दिरमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले नागरिकता निरन्तरतासम्बन्धी विषयमा उत्साहपूर्वक छलफल गरे। उनीहरूले विषयप्रति गहिरो चासो मात्र देखाएनन्, अभियानप्रति स्नेह र समर्थन पनि व्यक्त गरे। संयोजक घिमिरेले वंशजको नागरिकताको निरन्तरता नेपाल र गैरआवासीय नेपालीहरूबीचको सेतु बन्ने तथा नेपालको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने तथ्यांकसहित प्रस्तुत गरे।
पत्रकार तारा बरालले अन्तरक्रिया कार्यक्रममा आफ्नो व्यक्तिगत अनुभव बाँड्दै गैरआवासीय नेपालीहरूलाई वंशजको नागरिकता निरन्तरता किन नदिइएको भन्ने प्रश्न नेपाल सरकार, राजनीतिक दलहरू, तिनका नेताहरू, र सरोकारवालाहरूलाई गर्न सबैलाई आह्वान गरे। कार्यक्रममा नेपालका महावाणिज्यदूत ऋषि ढकालले अभियानको सफलताको शुभकामना दिएका थिए भने एनआरएनए उपाध्यक्ष ज्ञानेन्द्र गुरुङले वंशजको नागरिकता निरन्तरता गैरआवासीय नेपालीहरूको प्रमुख माग भएकाले यस अभियानलाई सबैले समर्थन गर्नुपर्ने बताए। कार्यक्रम इन्दिरा त्रिपाठीको अध्यक्षतामा सम्पन्न भएको थियो, जसमा लस एन्जलसका विभिन्न नेपाली संघसंस्थाका पदाधिकारीहरू उपस्थित थिए।
अभियानको आगामी योजना :
‘नागरिकता खोइ अभियान’ले पहिलो चरणमा नेपाल र विदेशका सरोकारवालाहरूलाई विषयको गम्भीरता बुझाउन अन्तरक्रिया कार्यक्रमहरूको आयोजना गरिरहेको छ। नेपालमा मिडिया, राजनीतिक दलका नेता, संविधानविद्, कलाकार, र बौद्धिक वर्गसँग प्रत्यक्ष सम्पर्क गरी संवाद भइरहेको छ भने अमेरिकामा नेपालीहरूको बाक्लो बसोबास भएका टेक्सास र क्यालिफोर्नियामा अन्तरक्रिया कार्यक्रमहरू सम्पन्न भइसकेका छन्।
अब दोस्रो चरणमा नेपालमा रहेका गैरआवासीय नेपालीका परिवारका घरहरूमै ब्यानर टाँगेर राजनीतिक नेतृत्वको ध्यानाकर्षण गराउने योजना रहेको संयोजक घिमिरेले बताए। यी ब्यानरहरूमा ‘मेरो वंशजका गैरआवासीय नातेदारको नागरिकता खोइ?’ तथा ‘वंशजका गैरआवासीय नेपालीहरूलाई विदेशी बनाउनु हुँदैन’ जस्ता नारा उल्लेख गरिनेछ।
अभियानले विदेशमा रहेका नेपालीहरूलाई ब्यानर खरिद गरी नेपालमा आफ्ना वा आफन्तका घर बाहिर स्पष्ट देखिने गरी टाँग्न आग्रह गरेको छ। साथै, नेपालका पूर्वी मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न सहरहरूमा गैरआवासीय नेपालीका अभिभावक, हजुरबुवा-हजुरआमा, तथा अन्य सरोकारवालाहरूलाई समेटेर टाउनहल मिटिङ आयोजना गरिनेछ। अन्ततः काठमाडौंमा वृहत र्याली निकालेर नेपाल सरकारलाई दबाब दिने योजना रहेको संयोजक घिमिरेले जानाए । नागरिकता निरन्तरता अभियानप्रति अमेरिकी नेपाली समुदायले देखाएको उत्साहपूर्ण समर्थनले अभियानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।