२०८२ वैशाख १७ गते | 30th of April 2025

जय नेपाल फाउन्डेसनको नयाँ बर्ष शुभकामना कार्यक्रममा शेखर कोईराला

खुल्लामन्च
 प्रकाशित: २०८१ चैत १४ गते १३:३७

लस एन्जलस –  नयाँ वर्ष २०८२ को अवसरमा जय नेपाल इन्टरनेशनल फाउन्डेसन- ग्लोबल युथ नेटवर्कले अप्रिल १२, २०२५ मा एक विशेष शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्न लागेको छ। यो कार्यक्रम केवल परम्परागत औपचारिकता पूरा गर्ने उद्देश्यले मात्र नभई, प्रवासमा रहेका नेपाली समुदायलाई एक आपसमा जोड्ने, लोकतान्त्रिक मूल्य मान्यताका पक्षधरहरुलाई एकत्रित गर्ने र राष्ट्रनिर्माणमा प्रवासी नेपालीको भूमिका के हुनसक्छ भन्नेबारे विचार आदान प्रदान गर्ने अवसर पनि हो।

उक्त कार्यक्रम नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ। यसले नेपाली राजनीतिमा लोकतान्त्रिक धारको प्रभाव, प्रवासमा रहेका नेपाली समुदायसँगको सम्वन्ध र भावी पुस्ताको भूमिकालाई केन्द्रविन्दुमा राखेर छलफल गर्न सकिने अपेक्षा गरिएको छ। ग्लोबल युथ नेटवर्कका अध्यक्ष मदनराज पौडेलले कार्यक्रमको उद्देश्यबारे स्पष्ट पार्दै भनेका छन् कि नेपाली समुदायको सहभागिता बढाउने तथा विश्वभर छरिएका युवाहरुलाई नेपालसँग जोड्ने लक्ष्य यस संस्थाले लिएको छ।

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले विश्वभरिका युवाहरूलाई एकीकृत गर्दै ‘ग्लोबल युथ नेटवर्क’, महिलाहरूका लागि ‘ग्लोबल वुमेन नेटवर्क’, पत्रकारका लागि ‘ग्लोबल मिडिया नेटवर्क’, विज्ञहरूको ‘ग्लोबल नलेज नेटवर्क’ र खेलाडीहरूको ‘ग्लोबल स्पोर्ट नेटवर्क’ जस्ता विभिन्न संरचनाहरू मार्फत विचार, ज्ञान, र अनुभवको आदान प्रदान गर्दै आएको छ। यस संस्थाका अन्तर्राष्ट्रिय अध्यक्ष डा. यादव पण्डितका अनुसार, प्रवासी नेपाली समुदायलाई नेपालसँग जोड्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा उनीहरूको भूमिका बढाउने उद्देश्यसहित यस संस्थाको स्थापना गरिएको हो।

नेपाली समुदायका लागि यस्ता कार्यक्रमले केवल व्यक्तिगत वा संस्थागत स्तरमा परिचयको अवसर मात्र प्रदान गर्दैन, बरु यो नेपाली सभ्यता, संस्कृति, लोकतान्त्रिक मूल्य र मान्यताहरुलाई विश्वमञ्चमा प्रवर्धन गर्ने सुनौलो अवसर पनि हो। आगामी पुस्तालाई नेतृत्वदायी भूमिकामा ल्याउने, प्रवासमा भए पनि मातृभूमिसँग सम्बन्ध प्रगाढ बनाउने र नेपालका विविध विकास परियोजनामा प्रवासी नेपालीको सहभागिता सुनिश्चित गर्ने जस्ता विषयमा यस्ता कार्यक्रमहरूले गम्भीर विमर्शको अवसर दिन सक्छ।

यस कार्यक्रममा प्रवासी नेपालीहरूसँगै नेपालमै रहेका इच्छुक व्यक्ति तथा संघसंस्थाहरूले समेत जुम प्रविधिमार्फत जोडिन सक्नेछन्। प्रविधिको उपयोग गर्दै विश्वभर रहेका नेपालीलाई एउटै मञ्चमा ल्याउने प्रयास आफैंमा नवीनतम सोच हो, जसले भविष्यमै अझ सशक्त संरचना निर्माण गर्ने दिशामा मार्ग प्रशस्त गर्न सक्छ।

समय र प्रविधिको सही उपयोग गर्दै नेपाली समुदायको एकता, समृद्धि र राष्ट्रप्रेमलाई बलियो बनाउन यस्ता कार्यक्रमको प्रभावकारीता अझै बढाउन आवश्यक देखिन्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *