लस भेगस, अमेरिका – नेपाल अमेरिका पत्रकार संघ (Nepal America Journalists Association – NEAJA) को नवौं अधिवेशन आगामी मे १० र ११, २०२५ मा अमेरिकाको लास भेगासस्थित प्यालेस स्टेशन (Palace Station) मा आयोजना हुने भएको छ। सन् २००७ मा स्थापना भएको यो संगठनले अमेरिका र नेपालबीच पत्रकारिताको सेतु निर्माण गर्दै आएको छ। “Bringing our community together through journalism” भन्ने नारासहित आयोजना गरिन लागेको यो अधिवेशनले अमेरिका बसोबास गर्ने नेपाली मूलका पत्रकारहरूलाई एउटै मञ्चमा ल्याउने लक्ष्य राखेको छ।
अधिवेशनमा समसामयिक पत्रकारिता, डिजिटल मिडिया, प्रेस स्वतन्त्रता, र प्रवासी नेपाली समुदायका मुद्दाहरूमा विशेष छलफल र कार्यशाला आयोजना गरिने बताइएको छ। नेजाले विगतका अधिवेशनहरूमा समेत प्रवासी नेपाली पत्रकारिता क्षेत्रको सशक्तिकरणमा उल्लेखनीय योगदान पुर्याएको छ। यसपटकको अधिवेशनले नयाँ पुस्ताका पत्रकारहरूलाई जोड्ने प्रयास गर्ने समेत अपेक्षा गरिएको छ।
कार्यक्रम स्थल लास भेगासको प्रतिष्ठित Palace Station मा सम्पन्न हुने यो अधिवेशनले अमेरिका भरिका पत्रकारहरूलाई आपसी अनुभव साटासाट गर्न, नेटवर्क विस्तार गर्न र सामूहिक पहिचान बलियो बनाउन सघाउनेछ।
अधिवेशनको तयारी पुरा :
नेपाल अमेरिका पत्रकार संघ(नेजा)को नवौं अधिवेशन मे १० र ११, २०२५ मा नेभाडा राज्यको लस भेगस सहरमा हुने भएको छ । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको कन्भेनर रोशन अधिकारीले जानकारी दिए । उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारहरूको संस्था नेजाको अधिवेशनको उद्घाटन सत्रमा अतिथि र पत्रकारहरू गरी २ सय जनाको सहभागिता रहने कन्भेनर अधिकारीले बताए । साथै, सो अधिवेशनमा प्रमुख अतिथिको रुपमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा अमेरिका आइसक्नुभएको अधिकारीले जानकारी दिए ।
यसैगरी, नेजाको नवौं अधिवेशन प्रक्रियामा सहभागी हुन ८१ जना सदस्यले रजिस्ट्रेसन गरेको महासचिव बाबुराम दाहालले जानकारी दिए । अधिवेशनका क्रममा नेजाको वार्षिक प्रकाशन ‘प्रयास’को प्रकाशन गर्नुका साथै पत्रकारिता पुरस्कार र पत्रकारिता सम्मान समेत वितरण गरिने महासचिव दाहालले बताए । मे १० मा हुने उद्घाटन सत्रमा नेपाल र अमेरिकाका विभिन्न संघ-संस्थाबाट अतिथिको रुपमा सहभागिता रहनेछ ।
अधिवेशन लस भेगसको प्यालेस स्टेसनमा हुनेछ । नेजाको अधिवेशनलाई लिएर लस भेगसका नेपाली समुदायले पनि सक्रिय रुपमा सहयोग गरिरहेका छन् । एनआरएनए अमेरिका नेभाडा राज्य च्याप्टरका अध्यक्ष दुर्गा प्याकुरेलले नेजाको यो अधिवेशनलाई लस भेगसको नेपाली समुदायले निकै महत्त्वका हिसाबले हेरिरहेको बताउँदै नेजाको यो अधिवेशनमार्फत लस भेगसको नेपाली समुदायको गतिविधि बाहिर लैजान पनि महत्त्वपूर्ण रहने विश्वास व्यक्त गरे ।