काठमाडौं – रास्वपा सभापति रवि लामिछाने अब केही समय थुनामै रहने भएका छन् । उच्च अदालत तुलसीपुरले दिएको आदेश सर्वोच्चले पनि शुक्रबार सदर गरेपछि उनी थुनामुक्त हुने प्रयास असफल भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको हो । न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेको थुना गैरन्यायिक नभएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट जारी गर्न अस्वीकार गरेको हो ।
तुलसीपुर आदेशलाई सदर गरेको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए । यससँगै लामिछानेको थुना अवधि अब अनिश्चित भएको छ । उनले थुनामुक्त हुन अदालतकै फैसलाबाट सफाइ पाउनुपर्ने वा सजाय अवधि काट्नुपर्ने हुन्छ । जिल्ला अदालतबाट एक करोड धरौटी भएको मुद्दामा धरौटीको आदेश बदरको माग गर्दै लामिछाने उच्च अदालत गएका थिए । उच्च अदालतबाट थुनाको आदेश भएपछि चैत २२ देखि थुनामा छन् ।