मनासास पार्क, भर्जिनिया – अमेरिकाको भर्जिनिया राज्य अन्तर्गतको मनासास पार्क शहरमा एक नेपाली मूलको परिवारका चार सदस्य मृत अवस्थामा फेला परेका छन्। स्थानीय समय अनुसार बुधवार राति करिब १०:४० बजे प्रहरीले उक्त शवहरू फेला पारेको पुष्टि गरेको छ। घटनाले नेपाली समुदायमा गहिरो शोक छाएको छ।
घटनास्थल मनासास पार्कको लानाए मार्ग स्थित ९४०० नम्बरको घर समूह रहेको बताइएको छ। उक्त स्थानमा बसोबास गरिरहेका नेपाली परिवारसँग लामो समयदेखि सम्पर्क नभएपछि माथिल्लो तल्लाको घरधनीले प्रहरीलाई वेलफेयर चेकका लागि बोलाएका थिए।
प्रहरी घटनास्थलमा प्रवेश गर्दा घरको भुईँ तलामा ३८ वर्षीय सन्तोष परियार, उनकी पत्नी ३६ वर्षीया अञ्जु श्रेष्ठ, र दुई साना बालबालिकाको गोली लागेर मृत अवस्थामा फेला परेका थिए। मृत बालबालिकामध्ये एक जना २ वर्षका छोरा र अर्की ८ वर्षीया छोरी रहेको पुष्टि भएको छ। उनीहरूको नाम भने हालसम्म गोप्य राखिएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार यो घटना हत्या–आत्महत्याको रूपमा देखिएको छ। घटनास्थलबाट एकथान बन्दुक बरामद गरिएको छ। तर, गोली कसले चलायो भन्ने विषयमा भने अनुसन्धान जारी रहेको र कुनै ठोस निष्कर्षमा नपुगेको प्रहरीले जनाएको छ।
शवहरूलाई मनासासको मेडिकल एक्जामिनरको कार्यालयमा पोष्टमार्टमका लागि पठाइएको छ। अनुसन्धानलाई गम्भीर रूपमा अघि बढाइएको र घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै प्रहरीले समुदायलाई संयमित रहन र अफवाह नफैलाउन आग्रह गरेको छ। यस घटनाले भर्जिनियास्थित नेपाली समुदायमा मात्र होइन, सम्पूर्ण प्रवासी नेपाली समाजमा स्तब्धता र दुःखको छायाँ पारेको छ।