काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत कृषि, पूर्वाधार र लगानी प्रबद्र्धनलाई प्राथमिकता दिने बिषयप्रति आभार व्यक्त गरेको छ । महासंघले शनिबार बिज्ञप्ती जारी गर्दै भनेको छ, ‘देशको समग्र आर्थिक विकास सम्भव बनाउन उत्पादनमुखी कृषि प्रणाली, आधुनिक पूर्वाधार र निजी क्षेत्रमैत्री नीति अवलम्बन गर्नु अपरिहार्य छ ।’उद्यमीले एकै स्थानबाट सम्पूर्ण सेवा पाउनुपर्ने माग सरकारले बजेटमार्फत सम्बोधन गरेको उल्लेख गदै महासंघले यो सेवा नागरिक एपजस्तो डिजिटल प्ल्याटफर्ममार्फत उपलब्ध हुन सके थप प्रभावकारी हुने सुझाव दिएको छ ।
महासंघका अनुसार, कृषिमा बीउ उत्पादन, सिंचाइ, कृषि यान्त्रिकीकरण, भण्डारण प्रणाली, प्रसंस्करण उद्योग र बजारीकरणमा निजी क्षेत्रको सक्रियता बढाउन बजेटले प्रोत्साहन दिनुपर्छ । त्यसका लागि सहुलियतपूर्ण ऋण, बीमा प्रणालीको सुदृढीकरण, अनुदान र करमा छुटको व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ । त्यस्तै युवा लक्षित स्टार्टअप अनुदान, उद्यम प्रवद्र्धन केन्द्र र लगानी सञ्जाल निर्माणको समेत माग गरिएको छ ।