काठमाडौं १२ साउन । स्थानीय तहको निर्वाचनमा आफना पार्टीका उम्मेदवारलाई असहयोग तथा अन्तर्घात गरेको भन्दै नेपाली कांग्रेस कनकाई नगर समितिले ८ जनालाई कारबाही गर्ने भएको छ ।
समितिले कारबाहीका लागि ८ जनालाई सिफारिस समेत गरेको छ। पार्टीका कनकाई नगरसभापति नेत्रप्रसाद चिमरियाले बिहीबार विज्ञप्ति जारी गरी पार्टी महासमिति सदस्य रमेश श्रेष्ठसहित विभिन्न ८ जनालाई कारबाहीको लागि केन्द्रमा सिफारिस गरेको हुन्। कांग्रेसका उम्मेदवारलाई असहयोग गर्ने, आचारसंहिता उल्लंघन गर्ने, अनुशासनहीन कार्य गर्ने तथा गराउने कार्यमा भूमिका खेल्नेलाई कारबाही गरेको विज्ञप्तिमा उल्लेख छ।
कारबाहीमा पर्नेहरुमा कांग्रेस महासमिति सदस्य श्रेष्ठ, पूर्व जिल्ला सदस्य सुकदेव पौडेल, सक्रिय सदस्य युवराज संग्रौला, क्षेत्रीय प्रतिनिधि पवन साह, क्रियाशिल सदस्य सुशील पोखरेल, इन्द्र श्रेष्ठ, निलम कटुवाल (निल डेबिड) र सदस्य साधारण कुमारमणि पोखरेल रहेको चिमरियाले जानकारी दिए।
कांग्रेसले सहज रुपमा जित हासिल गर्ने अनुमान गरिएको कनकाई नगरपालिकामा प्रमुख पदका उम्मेदवार एकराज उप्रेती, उपप्रमुख पदकी उम्मेदवार कविता बस्नेतसहितका उम्मेदवारहरु पराजित भएका थिए।