२०८२ असार ३० गते | 14th of July 2025

अभिनेता सलमान खानलाइ भएकाे ब्रेन एन्युरिजम् के हाे ?

खुल्लामन्च
 प्रकाशित: २०८२ असार १७ गते १६:२६

 भारत – बलीवूड अभिनेता सलमान खानले आफू ब्रेन एन्युरिजम् नामक नसासम्बन्धी रोगबाट जुझिरहेको बताएका छन्। ‘द ग्रेट इन्डिअन कपिल शो’ मा आफ्नो स्वास्थ्य अवस्थाबारे कुरा गर्दै उनले चलचित्र सिकन्दरको छायाङ्कनका क्रममा आफ्नो करङ्गमा चोट लागेको बताए।

सो क्रममा उनले ब्रेन एन्युरिजम् हुँदाहुँदै आफूले काम गरिरहेको बताउँदै अगाडि भनेः “हिँड्न गाह्रो हुन्छ, तथापि मैले नृत्य गर्ने गरेको छु। मेरो जिन्दगीमा यही सब चलिरहेको छ।” अभिनेता खानले आफ्नो समस्या सार्वजनिक गरेपछि भारतमा ब्रेन एन्युरिजम् बारे मानिसहरूले इन्टरनेटमा जानकारी खोज्न थालेका छन्। खासमा ब्रेन एन्युरिजम् के हो र यो कति खतरनाक हुन्छ त?नसा (रक्तनली) फुल्ने समस्यालाई एन्युरिजम् भनिन्छ। नसा कमजोर हुने कारणले फुल्ने समस्या हुन्छ, खास गरी नसा दुई भागमा बाँडिने ठाउँमा त्यो समस्या उत्पन्न हुन्छ।

त्यो कमजोर हिस्सा भएर जब रगत प्रवाह हुन्छ, तब त्यसको दबावले बलुन जसरी नसा फुल्न पुग्छ। एन्युरिजम् शरीरको जुनसुकै नसामा हुन सक्छ। यद्यपि दुई ठाउँमा बढी हुने गर्छः मुटुबाट शरीरमा रगत प्रवाह गर्ने धमनी र मस्तिष्क।

फुटेपछि ब्रेन एन्युरिजम् खतरनाक हुन्छ। ब्रेन एन्युरिजम् फुट्नुलाई ‘सबरएक्नोइड हेमोरेज’ भनिन्छ। त्यसबाट मस्तिष्कमा रगत फैलिन पुग्छ र मस्तिष्कमा क्षति पुग्न सक्छ। यसका लक्षण:

  • अचानक तीव्र र असह्य टाउको दुखाइ (कसैले टाउकोमा प्रहार गरेको जस्तो महसुस हुन्छ)
  • गर्दन अररो हुने
  • बान्ता हुने
  • उज्यालोतिर हेर्न गाह्रो हुने

यदि सानो छ भने नफुटेको ब्रेन एन्युरिजम् को सामान्यतया कुनै लक्षण देखिँदैन।

तर यदि ठूलो छ भने नजिकका नसामाथि दबाव सिर्जना गर्छ जसका कारण टाउको दुख्ने, आँखाको ज्योतिमा परिवर्तन अथवा अनुहार सुन्निने लक्षण देखिन सक्छ।

रक्तनली किन कमजोर हुन पुग्छन् भन्नेबारे अनुसन्धानकर्ताले ठ्याक्कै भन्न सकेका छैनन्, तर त्यो हुनुका केही कारण छन्।

  • धूमपान
  • उच्च रक्तचाप
  • परिवारमा कसैलाई ब्रेन एन्युरिजम् भएको (आनुवंशिक कारण)
  • जन्मदेखि नै रक्तनली कमजोर हुनु
  • टाउकोमा चोट लागेको हुनु
  • मदिरा तथा नशालु पदार्थको सेवन

ब्रेन एन्युरिजम् जुनसुकै उमेरमा जसलाई पनि हुन सक्छ, तर ४० वर्षभन्दा बढी उमेरका मानिसमा बढी यो समस्या पाइन्छ। पुरुषमा भन्दा महिलामा यो समस्या बढी देखिन्छ।

ब्रिटेनको न्याश्नल हेल्थ सर्भिसका अनुसार प्रत्येक वर्ष इङ्ग्ल्यान्डमा करिब १५ हजार व्यक्तिमध्ये एकजनामा ब्रेन एन्युरिजम् फुट्ने गरेको देखिन्छ।

संयुक्त राज्य अमेरिकास्थित ब्रेन एन्युरिजम् फाउन्डेशनका अनुसार अमेरिकामा हरेक वर्ष एक लाख जनामध्ये आठदेखि दशजनामा यो समस्या देखिने गरेको छ।

बिबिसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *