२०८२ असार ३० गते | 14th of July 2025

अमेरिकाको टेक्सास राज्यमा भीषण बाढी, २५ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

खुल्लामन्च
 प्रकाशित: २०८२ असार २१ गते ५:५६

टेक्सास –  अमेरिकाको टेक्सास राज्यका विभिन्न क्षेत्रहरूमा गएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। निरन्तरको मूसलधारे वर्षासँगै आएको बाढीमा परी कम्तीमा २५ जनाको ज्यान गएको र दर्जनौँ अझै बेपत्ता रहेको अमेरिकी अधिकारीहरूले बताएका छन्।

सबैभन्दा धेरै क्षति टेक्सासको केयर काउन्टी र वरपरका क्षेत्रमा भएको बताइएको छ। स्थानीय प्रशासनका अनुसार गत २४ घण्टामा व्यापक वर्षापछि ग्वाडालुपे नदीको सतह एक्कासी २२ देखि २९ फिटसम्म उक्लिएको थियो, जसका कारण नदी आसपास रहेका बस्तीहरू डुबानमा परेका छन्।

बेपत्ता हुनेहरूमा अधिकांश बालबालिका

सबैभन्दा दर्दनाक घटना केयर काउन्टीस्थित ‘क्याम्प मिस्टिक’ मा भएको बताइएको छ, जहाँ समर क्याम्पमा सहभागी २०–२५ जना बालबालिका हराइरहेका छन्। उद्धार टोलीले निरन्तर खोजी कार्य जारी राखेको छ भने, हेलिकप्टर, ड्रोन्स र अन्य स्रोतहरू प्रयोग गरेर व्यापक खोजतलास भइरहेको छ।

राज्यभर आपतकाल घोषणा

बाढीले सडक, पुल र सम्पर्क मार्गहरू अवरुद्ध पारेको छ। टेक्सास राज्यका गभर्नर ग्रेग एबोटले आपतकाल घोषणा गर्दै सम्पूर्ण सुरक्षाकर्मी, उद्धार टोली र स्वास्थ्यकर्मीलाई उच्च सतर्कताका साथ राहत तथा उद्धार कार्यमा खटिन निर्देशन दिएका छन्। “जनताको सुरक्षालाई प्राथमिकतामा राखेर काम भइरहेको छ,” गभर्नर एबोटले पत्रकार सम्मेलनमार्फत् बताएका छन्।

अभूतपूर्व वर्षा र विनाश

मौसमविद्हरूका अनुसार यो क्षेत्रलाई प्रायः ‘फ्ल्यास फ्लड एली’ भनिन्छ, जहाँ जमिन पानी सोस्न नसक्ने हुँदा एक्कासी बाढी आउने सम्भावना उच्च हुन्छ। पछिल्लो केही घण्टामा सामान्यतया चार महिनामा पर्ने पानी एकैपटक खसेको उल्लेख गरिएको छ। पानीको बहाव अत्यधिक रहेकाले उद्धार कार्यमा समेत चुनौती थपिएको छ।

स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह

स्थानीय प्रशासनले नदी किनार र डुबान सम्भावित क्षेत्रबाट तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ। टेक्सास राज्य आपतकालीन विभागले रेडियो, टेलिभिजन र सामाजिक सञ्जालमार्फत् सूचनाको पालना गर्न आह्वान गरेको छ।

यसैबीच, उद्धार गरिएका २३७ व्यक्तिमध्ये धेरैलाई अस्थायी शिविरमा राखिएको छ भने घाइतेहरूलाई नजिकका अस्पतालमा उपचार भइरहेको छ। थप वर्षाको पूर्वानुमान रहेकाले जोखिम अझै नटरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *